बझाङको थलरामा पहिरो जाँदा २३ जना बेपत्ता, ढोगदिनामा सात घर पुरियो
२ कात्तिक २०७८ धनगढी । बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् ।जिल्लाको थलारा गाउँपालिका– ४ डिख्लामा मंगलबार पहिरो जाँदा २३ जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् ।
तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेका छन् । गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदन बहादुर साउँदले जानकारी दिनुभयो ।
बाढीले सडक अवरुद्ध भएको र सञ्चार सम्पर्क नहुँदा समयमै खबर नपाएकाले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काले बताउनुभयो ।
यस्तै गाउँभन्दा माथि ढोगदिना भन्ने ठाउँबाट पहिरो जाँदा दुई गाउँका ७ घर पुरिएका छन् । घटनास्थलतर्फ प्रहरी गइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले बताउनुभयो ।
प्रतिक्रिया