Main News

सरकारद्वारा बाँकेकी धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे छानबिन गर्न समिति गठन

हिमालय टिभी
२०७८ कार्तिक २ गते १५:२४
सरकारद्वारा बाँकेकी धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे छानबिन गर्न समिति गठन

२ कात्तिक २०७८ काठमाडौं । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ताबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

आन्दोलनरत पक्षको नेतृत्व गरेकी रुबी खान र सरकारबीच भएको सहमतिअनुसार गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन भएको हो ।

समितिले घटनाको अनुसन्धान गरी एक साताभित्र प्रतिवेदन बुझाउने भएको छ । घटनाको छानबिनका लागि सरकारले समिति गठन गरेपछि आन्दोलनरत पक्षले अनशन र धर्ना आजै तोड्ने भएका छन् ।

लिखित सहमतिमा दुवै पक्षले हस्ताक्षर गरेसँगै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी रुबी अनशन तोड्न आन्दोलन भइरहेको स्थान माइतीघर नै पुग्नुभएको छ ।

उहाँले अहिले केहीबेरमा अनशन तोड्नुहुनेछ । जिल्ला र प्रदेशमा न्याय नपाएको भन्दै १६ जनाको समूह २० दिन हिँडेर बाँकेबाट काठमाडौं आई धर्ना र अनशन बसेको थियो । धर्नाको १३ औं दिनमा सहमति भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *