Main News

नेकपा एकीकृत समाजवादीः जन्मदै यस्तो विवादको भूँमरीमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १ गते २१:०७
नेकपा एकीकृत समाजवादीः जन्मदै यस्तो विवादको भूँमरीमा (भिडियो रिपोर्टसहित)

१ कात्तिक २०७८ काठमाडौं । विधि र पद्धतिको भाषण गरेर नथाक्नेबाटै विधि र पद्धति उल्लंघन भयो भने के हुन्छ ? प्रजातान्त्रिक विधि र प्रक्रियाको वकालत गर्नेबाटै त्यसको उल्लंघन भयो भने दोष कसको हुन्छ ? नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा त्यस्तै भएको छ।

तात्कालिन नेकपा एमाले र नेकपामा अध्यक्ष केपी ओलीले विधिअनुसार पार्टी नचलाएको आरोप लगाउने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवगठित एकीकृत समाजवादी पार्टी पनि विधिमा नचलाउने छाँट देखिएको छ ।

केपी शर्मा ओलीलाई नेकपाको अध्यक्ष या प्रधानमन्त्री एक छान्न, एक व्यक्ति एक पदको वकालत गरेका समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी अध्यक्ष र संसदीय दलको नेता दुवैमा आफैंलाई घोषणा गर्नुभयो ।

ओलीलाई पार्टी अध्यक्ष छाडेर युवामा नेतृत्व हस्तान्तरण गर्न समेत बारम्बार चुनौति दिँदै गैरप्रजातान्त्रिक तबरबाट पार्टी चलाएको आरोप लगाउने पूर्व प्रधानमन्त्री नेपालले अहिले आफ्नो दलमा पद पजनी गर्दा आफ्नै पुराना अडानको खिल्ली उडाउनुभएको छ। पार्टीका पदाधिकारी र सदस्य खल्तीबाट मनोनित गरिरहनुभएका नेपालले ओलीलाई गुट र आफन्तपरस्त भनेर लगाएको आरोप पनि ‘भन्ने कुरा न हुन्’ पुष्टि भएको छ।

आफ्ना भाइदेखि स्वकीय सचिव र भान्जालाई केन्द्रीय सदस्यमा मनोनित गरेका नेपालले मौका पर्दा दलका नेताले केसम्म गर्दा रहेछन् भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ। एमालेको सानो हिस्सा फुटेर बनेको पार्टीको केन्द्रीय समिति र जिम्मेवारी वितरणचाहिँ पार्टी ठूलो भएर व्यवस्थापनका लागि अनिवार्य शर्त जस्तो छ ।

खोजी खोजी हिजो एमाले हुँदा जिल्ला कमिटीको सदस्यमा समेत चिठ्ठा परेकाहरुलाई केन्द्रीय सदस्य बनाइएको छ । ३ सय ३५ सदस्यीय केन्द्रीय समितिमा एमाले र नेकपाकै फर्मूलामा सहइन्चार्जहरु बाँडेर ‘मनको लड्डु घिउसित’ ख्वाइएको छ। हिजो एमालेबाट पदकै लागि विद्रोह गरेकालाई पार्टी र राजकीय दुबै जिम्मेवारी दिएर पार्टीमा अड्याउनै धामा परेको छनक पनि समाजवादीले दिएको छ।

अनौठो र अचम्मलाग्दो कुरा त पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई वरिष्ठ नेताबाट सरुवा गरेर सम्मानित नेता भनिएको छ, मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई मात्र नेता भनिएको छ। विश्वका कुनै मुलुक र राजनीतिक दलमा नभएको पद पजनी जानेका नेपालको दलले नयाँ पार्टी बनाउँदा या एकीकरण गर्दा पदका सबै मानक नाघ्छन् भन्ने दृष्टान्त पनि समाजवादीले पेश गरेको छ।

अब प्रश्न उठ्छ, के समाजवादीमा खनाल मात्र सम्मानित नेता, अरुलाई सम्मान गर्नु नपर्ने या उनीहरु सम्मानका हकदार होइनन् ? सम्मानित पद गर्भबाटै कन्तुरमा हालेर ल्याउने हो कि आफ्ना कर्मले आर्जन गर्ने हो ? अझ लाजमर्दो कुरा त न्यौपाने र नेपाललाई मात्र नेताभन्दा बाँकी केन्द्रीय समितिका ३ सय ३३ जनाचाहिँ नेता होइनन् भन्ने बुझ्ने हो ? झुक्किएरै सही बुटवल उपमहानगरपालिकालाई महानगरपालिकामा बढुवा गरेको समाजवादीले पद कामबाट सृर्जित हुन्छ भन्ने यथार्थ बिर्सेको छ।

अन्य जनवर्गीय संगठनका अध्यक्षलाई पदेन केन्द्रीय सदस्य बनाएको समाजवादीले नेता कार्यकर्ता उत्पादनको नर्सरी मानिने अनेरास्ववियूका अध्यक्षलाई भने अन्याय गरेको छ। समाजवादी बनाउन र एमाले नेताहरुको बदख्वाँइ गर्न लामो समयदेखि परिचालित अखिल अध्यक्ष सुदेश पराजुलीले त नयाँ दलको मति पनि पुरानैको सति गएको भनेर सामाजिक संजालमा दुखेको समेत पोख्नुभएको छ।

समग्रमा मन्त्री छान्दा होस् या केन्द्रीय समिति बनाउँदा होस् , समाजवादीले दलहरुको भीडमा एक दल थप्ने भन्दा केही नगर्ने देखिएको छ। राज्यको ढुकुटीबाट नयाँ दलका तर्फबाट राजकीय जिम्मेवारीमा पुगेकालाई कानूनी आवरणमा नियुक्ति र भागशान्ति गर्ने बाहेक समाजवादीले आफू र परिवार अनि आफन्तलाई समाजवाद त ल्याउला ,जनता र लोकतन्त्रका लागि भने ‘कौवालाई बेल’ हुने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *