Main News

भारी वर्षासहित मौसममा परिवर्तन, सतर्कता अपनाउन विज्ञको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १ गते २०:११
भारी वर्षासहित मौसममा परिवर्तन, सतर्कता अपनाउन विज्ञको सुझाव (भिडियो रिपोर्टसहित)

१ कात्तिक २०७८ काठमाडौं । कात्तिक लागिसक्दासमेत देशका विभिन्न स्थानमा भारी वर्षासहित मौसममा परिवर्तन भइरहेको छ। विज्ञहरुले थप तीन दिनसम्म मौसममा परिवर्तन हुने हुँदा सजग रहन सचेत गराएका छन् । सामान्यतः कात्तिमा वर्षाको सम्भावना नभए पनि यो वर्ष देखिएको मौसमी परिवर्तनको कारण के होला त ?

बंगालको खाडी र मध्य भारतबाट उत्तरतर्फ सर्दै गरेको न्युन चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण देशभरको मौसम बदली भएको छ । यसको प्रभावले विगत केही दिनदेखि अचानक मौसम परिवर्तन भइरहेको छ ।

जसका कारण देशका अधिका‌श भू–भागमा सामान्य बदली रही विभिन्न स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ भने कतै भारी वर्षा भइरहेको छ । यसले जनजीवनमा प्रभाव पारेको त छ नै साथै किसानको धान बालीलाई समेत निकै असर पारेको छ।

मौसमविद्ले यसको प्रभाव अझै तीन दिनसम्म रहने बताएका छन् । मौसमविद्ले खासगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश लगाएतका केही स्थानमा चटयाङ्सहित भारी वर्षा हुने सम्भावना रहेको बताएका छन्।

बंगालको खाडी र मध्य भारतमा रहेको न्युन चापीय प्रणाली र पश्चिमी वायु प्राणालीको संयुक्त प्रभाव तीन दिनसम्म रहने र प्रदेश १ ,२ र बागमती प्रदेशका केही स्थानमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले जनाएका छन् । पश्चिमी र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्कादेखि मध्यम र कहीकहीँ हल्का हिमपातको समेत सम्भावना रहेको उनीहरुको भनाइ छ ।

बिहीबार बिहानसम्म अवस्था यस्तै रहने हुँदा बिहीबारपछि मात्र नियमित क्रियाकलाप अगाडी बढाउन मौसमविद्ले सुझाव दिएका छन् । हरेक हप्ताको मौसम सम्बन्धी जानकारी प्राप्त गर्न मौसम पूर्वानुमान महाशाखाको वेबसाइट हेर्न समेत किसानलाई सुझाब दिएका छन् ।

धान पाक्ने र काट्ने बेलामा देखिएको मौसमको यस्तो प्रभावले किसानहरुलाई भने निकै मर्का परेको छ । बेमौसममा परेको पानीको प्रभावले दशैं र तिहार जस्ता ठूला चाडको रौनकतालाई समेत बिथोलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *