Main News

बेमौसमी वर्षाः भित्राउने तयारीमा रहेको धानबालीमा क्षति, किसान मर्कामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १ गते १९:५४
बेमौसमी वर्षाः भित्राउने तयारीमा रहेको धानबालीमा क्षति, किसान मर्कामा (भिडियो रिपोर्टसहित)

१ कात्तिक २०७८ काठमाडौं । धानबाली भित्र्याउने बेला देशका अधिकांश स्थानमा भएको बेमौसमी वर्षाका कारण बालीमा क्षति पुगेपछि किसान चिन्तित बनेका छन् ।

कतिपय स्थानमा काटेर भित्र्याउन ठिक्क पारेको धानबालीलाई वर्षाले ठूलो नोक्सानी गरेको छ । केही स्थानमा भने धानका बोट नै ढलेका छन् । पानी पर्ने क्रम जारी नै रहेकाले बाँकी रहेको धान कसरी जोगाउने भन्ने चिन्तामा किसान छन् ।

यो वर्ष राम्रो उत्पादन भएपनि भित्र्याउन ठिक्क पारेको धान पुरै पानीले भिजेपछि वर्षभर खाद्यान्नको जोहो कसरी गर्ने भन्ने चिन्ता किसानलाई छ ।

भित्र्याउन ठिक्क पारेको हजारौँ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीलाई वर्षाले नोक्सानी गरेको छ । देशका अधिकांश स्थानमा आएको हावाहुरी र त्यस पछिबाट निरन्तर भइरहेको वर्षाका कारण धान बालीमा नोक्सानी पुगेको हो ।

वर्षा जारी रहेको खण्डमा आफूले खपतका लागि छुट्याएर बाँकी रहेको भिजेको धान बेच्नका लागि पनि समस्या हुन्छ । धान भिजेका कारण कालो हुन्छ, बिउका लागि उपयुक्त हुँदैन । व्यापारीले सस्तो मुल्यमा धान खरिद गर्ने हुँदा किसान घाटामा पर्ने सम्भावना छ ।

भिजेको धान राख्न पनि नमिल्ने र मूल्य पनि नपाइने समस्या आउने भन्दै किसानले यसमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

देशभर करिब १५ लाख हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । यो वर्ष समयमै रोपाइ भएकाले उत्पादन पनि राम्रो भएको छ । तर दशैं लगायत पर्वका कारण आधा बढी किसानले धान भित्र्याउने तर्खरै नगरी भएको बेमौसमी वर्षाले धान उत्पादनमा १० प्रतिशतसम्म कमी आउनसक्ने विज्ञको अनुमान छ ।

अहिले पनि वर्षा जारी रहेकाले धान भिज्नबाट कसरी जोगाउने भन्ने चिन्ता किसानलाई छ । व्यवसायिक धानखेती कमैले मात्र गर्ने र व्यक्तिगत खपतका लागि धान खेती गर्ने बढी भएकाले थप समस्या निम्त्याउने जोखिम रहन्छ ।

किसानको अपेक्षाअनुसार उत्पादन नभए वर्षभरको अन्नको जोहो गर्न नै कठिन पर्न सक्छ । त्यसैले वर्षभरीको बचेको बालीको सुरक्षा गर्दै किसानका लागि सरकारले तत्काल राहतको व्यवस्था गर्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *