Main News

महोत्तरीमा महिलामाथि मानवताविरोधी यस्तो व्यवहार (भिडियो रिपोर्टसहित

हिमालय टिभी
२०७८ कार्तिक १ गते १६:१५
महोत्तरीमा महिलामाथि मानवताविरोधी यस्तो व्यवहार (भिडियो रिपोर्टसहित

१ कात्तिक २०७८ महोत्तरी । महोत्तरीमा करिव दुई दशक पहिले गाउँलेले ठूलो भेला गरेर भारतीय धामी झाँक्री बोलाएर तत्कालिन सिमरदही गाविस २ बस्ने मरनी देवीलाई मलमुत्र खुवाइ कुटपिट गरेको घटनापछिका पछिल्ला दुई घटनाले अझै पनि समाजबाट बोक्सी र धामी झाँक्री बारेको भ्रम चिरिन नसकेको देखाउँछ ।

गत आर्थिक वर्षमा महोत्तरीमा तीन वटा बोक्सी आरोपमा कुटपिट गरेको घटना प्रहरीमा दर्ता भएका छन् भने चालु आर्थिक वर्षमा एउटा घटना दर्ता भएको प्रहरीको तथ्यांक छ । मरनी देवीको घटनापछि महोत्तरीमा बोक्सीकै आरोपमा आफ्नो भाउजूकै हत्या गरिएको र अर्को घटनामा मलमुत्र खुवाई कपाल मुण्डन गरी कुटपिट गरेको घटना बाहिरिएको छ ।

गत बिहीबार बिहान महोत्तरी गाउँपालिका ३ मडई निवासी ४२ वर्षीया शिलादेवी झाको टाउकोमा हथौराले हानेर मारेको आरोपमा उनकै देवर ४२ वर्षीय संजय कुमार झालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्तरीका प्रहरी उपरीक्षक एसपी दिनेश आचार्यले मृतक महिलालाई बोक्सी आरोप र आर्थिक हिनामिना गरेको भन्दै उनका देवरले मारेको बताउनु भएको छ ।

गत बुधबार नै जलेश्वर नगरपालिका ४ सुगा वस्ने शम्भु महतोकी ४२ वर्षीया श्रीमती आफ्नै घर अगाडी घुमफिर गरिरहेको अवस्थामा सोही ठाउँ बस्ने रगेश्वर महतोको परिवारका सदस्यहरुले मलमुत्र खुवाई कपाल काटिदिएको र कुटपिट समेत गरेको आरोपमा चारजना आरोपीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको छ ।

पक्राउ पर्नेहरुमा ६५ वर्षीया प्रमिला देवी, उनका छोराहरु ३५ वर्षीय सिकिन्दर महतो, २० वर्षीय अनिल महतो र बुहारी ३२ वर्षीया पुरनी देवी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

बुधबार मध्यरात ती आरोपी अगाडी पुग्दा सिकिन्दर महतोको १३ वर्षीया छोरीले ती युवतीलाई देखेर रुन थालेकोमा सिकिन्दरले ती युवतीलाई यसले मेरो छोरीमाथि टुनामुना गरी भन्दै उनलाई लछारपछार गर्दै कुटपिट गरेका थिए ।

पछि परिवारकै सबै सदस्य मिलेर मलमुत्र खुवाउँदै उनको कपालसमेत काटिदिएपछि पीडितले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी हालेकी थिइन् ।

गाउँ घरमै दैनिक यस्ता घटनमा बोक्सी भन्दै कुटपिट गर्ने गरेको निवेदनहरु पर्ने गरेपनि विभिन्न दबाव र प्रभावमा थामथुम पार्ने गरिएको छ । त्यसता अधिकांश घटनामा पीडितलाई गाउँ समाजमै विभिन्न डर धम्की देखाउँदै दवाइने गरिएको महिला अधिकारकर्मीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *