माइतीघरमा हिंसा पीडितको चित्कार, नजिकैको सिंहदरबारले किन सुनेन ? (भिडियो रिपोर्टसहित)
३० असोज २०७८ काठमाडौं । देश दशैंले खुसी बाँड्दै गर्दा राजधानीको माइतीघरमा अनसन बसेकाको दशा भने अर्कै छ । न्यायका लागि बसेकाले नै अन्याय गरेपछि बाँकेबाट २० दिन हिँडेरै राजधानी काठमाडौं आएकाहरुको आवाज नजिकैको सिंहदरबारले सुनेको छैन। बरु उनीहरुलाई झुठो मुद्दा लगाउन अभ्यस्त छ।
बाँकेकी नन्कुन्नी धोबी गत वर्ष साउनमा आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परिन् । तेस्री श्रीमतीका रुपमा भित्रिएकी नन्कुन्नीमाथि उनका श्रीमान र परिवारले लामो समयदेखि विभिन्न वहानामा कुटपिट गर्दै आएका थिए ।
आफूमाथि घरेलु हिंसा भएको भन्दै उनले पटकपटक प्रहरी प्रशासन गुहारेपनि कुनै सुनुवाइ भएन । अन्ततः उनी मृत फेला परिन् । निर्मला कुर्मी पनि लामो समयदेखि घरेलु हिंसाको शिकार बनेकी थिइन् । त्यही वर्षको मंसिरदेखि निर्मला बेपत्ता छिन् । उनको अवस्था अझै अज्ञात छ । घटनाको अनुसन्धान गर्नका लागि परिवार र आफन्तले पटकपटक आग्रह गरेपनि प्रहरी प्रशासन गम्भिर नबनेपछि उनीहरु २० दिन लामो र कष्टकर पैदल यात्रा गरेर संघीय राजधानीमै धर्ना कस्न बाध्य भएका हुन् ।
परिवारकै मिलेमतोमा दुवै जनाको हत्या भएको हुनसक्ने परिवार र आफन्तको आशंका छ । तर प्रहरीले निमुखा र पीडित सर्वसाधारणलाई न्याय दिनुको साटो विना अनुसन्धान आत्महत्या करार गर्दै पीडित पक्षमाथि नै दुर्व्यवहार गर्यो । न्याय माग्न जाने निकायबाटै अन्याय खेपेका उनीहरु आफूहरुमाथि पनि आक्रमण हुनसक्ने भयले सशंकित छन् । पीडामाथि भय थपिएपछि उनीहरुका आँखा अझै ओभाएका छैनन् ।
काठमाडौं आउनुअघि उनीहरुले नेपालगञ्जमै जिल्ला प्रहरी कार्यालय अगाडि १९ दिन धर्ना पनि दिए । जिल्लाबाट न्याय नमिलेपछि पीडित परिवारका सदस्य र अधिकारकर्मीहरू असोज १ गते काठमाडौंका लागि पैदल हिँडेका थिए । स्थानीय सरकारबाट आहत उनीहरु संघीय सरकारबाट न्याय पाउने आशामा २० दिनको पैदलयात्रापछि काठमाडौं आएपनि उनीहरुको मागबारे सरकार बेखबर छ ।
माइतीघरमा अनसनमै बसेका बेला अधिकारकर्मी रुवी खानलाई त पक्राउ गरी आन्दोलन दबाउन समेत प्रयास गरिएको पीडितको गुनासो छ। रुवीमाथि झुठो मुद्दा दायर गर्न प्रहरी प्रशासन नै लागेको ठहर सर्वोच्च आदलतले नै गरेपछि रिहा भएकी रुवीको पनि अनसनमा सहभागिता छ । ६ दिन हिरासतमा रहँदा पनि रुवीले अनसन जारी राखेको र माग सुनुवाइ नभएसम्म धर्ना र अनसन जारी राख्ने पीडितहरुको भनाइ छ। उनीहरुले दुर्व्यवहार गर्ने प्रहरी अधिकारीमाथि पनि कारवाहीको माग गरेका छन् ।
नन्कुन्नी धोबी र निर्मला कुर्मी प्रकरण त उदाहरण मात्र हुन् । पहुँच हुनेको मात्र कानून र निमुखा जनता नेताको भोट मेसिन बनेका धेरै उदाहरण छन् । गुण्डागर्दी र गैरकानूनी धन्धाबाट धनी र पहुँचवाला भएकालाई स्यालुट ठोक्न नहिच्किचाउने कतिपय प्रहरी अधिकृत र प्रशासन आम नागरिकमाथि कसरी पोखिन्छ भन्ने पनि बाँके घटनामा छर्लङ्ग भएको छ ।
प्रतिक्रिया