Main News

दशैंका दिन बिदाईको टीका लगाएर भारी मन लिएर विदेशिनु पर्दाको पीडा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २९ गते १९:४७
दशैंका दिन बिदाईको टीका लगाएर भारी मन लिएर विदेशिनु पर्दाको पीडा (भिडियो रिपोर्टसहित)

२९ असोज २०७८ काठमाडौं । दशैं नेपालीको महान पर्व । बाध्यतामा परेर होस् वा काम विशेषले, पढनका लागि होस् वा श्रम गर्न विदेश गएका, शहर छिरेकाहरु दशैं मनाउन आफ्नो जन्म घर फर्कन्छन् ।

दशैंमा गाउँ घरमा जम्मा हुने, बालशखा भेट्ने, पूराना याद ताजा बनाउनका लागि दशैं नै उपयुक्त अवसर मानिन्छ । तर विभिन्न कारण जन्मभूमि छोडेर विदेश जानेहरुलाई विजयादशमीको टीकाको दिनले पनि रोक्न सकेन । भारी मन बनाएर उनीहरु बाहिरिँदै थिए ।

शुक्रबार विजया दशमीको टीकाको दिन । १० बजेर २ मिनेटमा साइत खोज्नेहरुका लागि उत्तम साइत थियो । कतिपयका निधारमा रातो टीका टल्किरहेको थियो । तर विजया दशमीको होइन, विदाइको ।

दशैंले परदेशीलाई घर भित्र्याउँछ । किनकी विदेशी भूमिमा चाडपर्व मनाउँदा कति भारी मन हुन्छ, छटपटी हुन्छ, नरमाइलो हुन्छ त्यो त परदेशिएकाहरु जो महान चाडमा पनि घर फर्किन पाउँदैनन् तिनीहरुलाई नै बढी थाहा हुन्छ । तर कतिपय यस्ता बाध्यताहरु पनि हुन्छन् जसले पर्व र त्यसको महत्वलाई पनि ओझेलमा पारिदिन्छन् ।

एक त परिवारबाट टाढा अर्कैको देश त्यसमाथि दशैंमा सबै घर फर्किरहेका बेला विदेशिदा मन भारी भएको थियो । शरीर केही बेरमा निलो आकाश र निलो समुद्रको बीचमा उड्दै थियो । तर चञ्चल मन उडेर आफ्नै गाउँ फर्कँदै थियो । जहाँ साथीसंगी, रोटे पीङ र चर्के पिङमा रमाउँदै थिए । मान्यजनकोमा टीका थाप्न जानेको चहलपहल थियो । र पनि क्यामेराको अगाडि ओठमा मुस्कान देखाउन खोजेको मास्क बाहिरैबाट देख्न सकिन्थ्यो । आँखा भने टल्पलाइरहेका थिए ।

श्रम गर्न होस् वा उच्च शिक्षाका लागि अथवा पैसा कमाएर पारिवारिक खुशीका लागि विदेश जानु पर्ने धेरै नेपालीको बाध्यता छ । चाडपर्व मनाएर केही दिनमा त विदेशी भूमिमा फर्कनै पर्छ । तर पनि विजयादशमीको टीकाकै दिन जन्मभूमि छोडेर परदेशिनु सायद सबैका लागि पीडादायी त हुन्छ नै ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *