पहिलो चरणमा कात्तिक १० मा ५० जना नेपालीलाई दक्षिण कोरिया पठाउने तयारी

२९ असोज २०७८ काठमाडौं । दक्षिण कोरिया जानका लागि कागजात पूरा गरेका नेपालीहरूलाई आगामी कात्तिकको दोस्रो सातादेखि पठाउन शुरु गरिने भएको छ ।
पहिलो चरणमा कात्तिक १० मा ५० जना नेपालीलाई पठाउने तयारी भएको वैदेशिक रोजगार विभाले जनाएको छ । एक पटक दक्षिण कोरिया गएर फर्केकाहरू पहिलो चरणमा जानका लागि छनौटमा परेको विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिनुभयो ।
विभागका अनुसार विभिन्न चरणका भाषा परीक्षा उत्तीर्ण गरेकादेखि बिदामा आएकाहरूसम्मको हिसाब गर्दा १० हजारभन्दा धेरै नेपाली दक्षिण कोरिया जाने प्रतिक्षामा छन् ।
श्रम सम्झौताको म्याद सकिएकाहरूको नवीकरणका लागि नेपाल र दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयबीच समन्वय भइरहेको विभागको भनाइ छ ।
यस्तै इजरायल जाने अन्तिम सूचीमा परेकाहरूलाई पठाउनका लागि भने कम्तिमा डेढ महिना लाग्ने भएको छ । विभागका महानिर्देशक काफ्लेले ठूलो सङ्ख्यामा भिसा पठाउनुपर्ने भएकाले केही समय लाग्ने जानकारी दिनुभयो ।
इजरायलमा सुसारे (केयरगिभर) को रुपमा जान भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये एक हजार १ सय ७५ नेपालीलाई इजरायल सरकारले गोलाप्रथा प्रणालीमार्फत केही दिनअघि छनौट गरेको थियो । छनोटमा परेका व्यक्तिले अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट लिनुपर्नेछ भने उक्त प्रक्रियामा अनुुत्र्तीण भएमा इजरायल जान पाइने छैन ।
नेपाल सरकार र इजरायल सरकारबीच दुई वर्षअघि भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुसारे (केयर गिभर)का लागि नेपाली सहायक श्रमिक पठाउन लागेको हो ।
प्रतिक्रिया