राजनीति

कति छ हाम्रा मुख्य दलका शीर्ष नेताहरुको शैक्षिक योग्यता ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २९ गते ७:५१
कति छ हाम्रा मुख्य दलका शीर्ष नेताहरुको शैक्षिक योग्यता ? (भिडियो रिपोर्टसहित)

२९ असोज २०७८ काठमाडौं । नेपालमा डिग्री गरेका युवा देशमा रोजगारी नभएर खाडी जानुपरेको तर नपढेका नेताले देश चलाउँदा देशपछि परेको भन्ने आम टिप्पणी हुने गरेको छ । नेपालका मुख्य पाँच राजनीतिक दलका मुख्य नेताहरुको औपचारिक शिक्षा चाहीँ कति छ त ?

नेताहरुको शैक्षिक योग्यता आमचासोको विषय बन्ने गरेको छ । हुन त राजनीतिमा प्रवेश गर्न कुनै योग्यता चाहिँदैन भन्ने वैश्विक मान्यता छ । तर नेपालमा नेताहरुको चेतनाको स्तर, उनीहरुको अभिव्यक्ति, प्रस्तुति, अन्तर्राष्टिय सम्बन्ध जस्ता कुराले उनीहरुको शैक्षिक योग्यतामाथि प्रश्न उठ्ने गरेको छ ।

कति छ त नेपालका शीर्ष नेताहरुको शैक्षिक योग्यता ?

राष्ट्रपति विद्यादेवी भण्डारी
भोजपुरमा जन्मिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले बीएसम्मको अध्ययन गर्नुभएको छ । भोजपुर क्याम्पसबाट आइएसम्मको अध्ययन सकेर तत्कालीन माले पार्टीको युवा संगठनमा संलग्न भई राजनीतिक यात्रा शुरु गरेकी भण्डारीले महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट बीएसम्मको पढाई पूरा गर्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा
डडेल्धुरामा जन्मिएका प्रधानमन्त्री शेरबहादुर देउवाले कानूनमा स्नातक तह र राजनीतिशास्त्रमा स्नातकोत्तर तह पूरा गर्नुभएको छ । नेपाली कांग्रेसका सभापितसमेत रहेका देउवाले लन्डन स्कुल अफ इकोनोमिक्समा रिसर्च फेलोसमेत पूरा गर्नुभएको छ ।

केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शैक्षिक योग्यताका हिसावले सबैभन्दा कम पढ्ने नेतामा पर्नुहुन्छ । उहाँले कक्षा १० सम्मको मात्रै औपचारिक शिक्षा पुरा गर्नुभएको छ । २०२८ सालदेखि २०४४ सालसम्मको लामो जेल जीवन बिताएका ओलीले आफ्नो औपचारिक अध्ययन अगाडी बढाउन सक्नुभएको थिएन । ओलीले पछिल्लो समय कोरोनाको औषधि बेसारपानी, अम्बाको पात लगायतका जडिबुटी खानु भन्ने चिकित्सकीय अभिव्यक्तिले उहाँको शिक्षाप्रति सबैको चासो बढेको हो ।

पुष्पकमल दाहाल प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बीएससीसम्मको अध्यन पूरा गर्नु भएको छ । २०२६ सालमा एसएलसी, दिएका प्रचण्डले कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट बीएससी पूरा गर्नुभएको छ ।

माधवकुमार नेपाल
पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले वाणिज्यशास्त्रमा स्नातक तहसम्मको अध्यन पूरा गर्नु भएको छ । तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नु भएका नेपालले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएको हो ।

डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले औपचारिक शिक्षा सन् १९६३ मा अमर ज्योति जनता माविबाट शुरु गर्नुभएको थियो । उहाँले द नेचर अफ अण्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल विषयमा विद्यावारिधि गर्नुभएको छ । एसएलसी र आईएस्सीमा प्रथम भएपछि उहाँले कोलम्बो प्लानमा इन्जिनियरिङ्गको पढाई समेत पुरा गर्नुभएको छ ।

रवीन्द्र मिश्र
पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गर्नुभएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले त्रिभुवन विश्वविद्यालयबाट अङग्रेजीमा स्नातकोत्तर हासिल गर्नुभएको छ । त्यसैगरी पन्जाब विश्वविद्यालय, पाकिस्तानबाट पत्रकारितामा तथा लन्डन विश्वविद्यालय, बेलायतबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर समेत गर्नुभएको हो ।

उपेन्द्र यादव
जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले स्नातकोत्तरसम्मको पढाइ पूरा गर्नु भएको छ । सप्तरीको मोहन निमाविमा प्रारम्भिक शिक्षा प्राप्त गरेका यादवले पछि जनता मावि मधुवन र वनदहवाकट्टी हाइस्कूल सप्तरीमा माध्यमिक शिक्षासम्म अध्ययन गरेर धरानको हात्तीसार क्याम्पसबाट आईएस्सी गर्नु भएको हो । पछि महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट स्नातक र स्नातकोत्तरसम्मको अध्ययन पुरा गर्नुभएको छ ।

पछिल्लो समय डिग्री हासिल गरेका युवाहरु विदेशमा र नपढेका नेताहरु मुलुक सञ्चालनमा रहेको भन्दै उनीहरुको शैक्षक योग्यताको चर्चा हुने गरेको छ । राजनीतिमा प्रवेश गर्न कुनै शैक्षिक योग्यता चाँहिदैन भन्ने मान्यता छ । तर जनताको प्रतिनिधि नै अशिक्षित भए कसरी काम गर्न सक्छन् भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्