Main News

संघीय राजधानीलाई गिज्याउँदै काठमाडौंका सडक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २७ गते १५:५५
संघीय राजधानीलाई गिज्याउँदै काठमाडौंका सडक (भिडियो रिपोर्टसहित)

२७ असोज २०७८ काठमाडौं । काठमाडौं, मुलुकको संघीय राजधानी । लाखौं नागरिकको सपनाको सहर पनि । समृद्धिको सिंगो तस्विर बोक्नुपर्ने राजधानी सहरका सडकको अवस्था दुर दराजका नागरिकले सोचेको सपनाको सहर भन्दा पृथक छ ।

मुलुकको राजनीति र आर्थिक प्रशासन चलायमान बनाउनुपर्ने राजधानीका सडक घाइते अवस्थामा छन् । दीर्घकालिन समाधानका लागि तीनै तहका सिंहदरबारहरुले बेवास्ता गर्दा हिउँदमा धुलो र वर्षायाममा हिलोले राजधानीलाई गिज्याइरहेको छ ।

काठमाडौं महानगरपालिका–१६ ढुंगेधारादेखि नागार्जुन नगरपालिका–१ रानीवनको भित्री क्षेत्र जाने सडकको यो दृश्य हो । जहाँ ढलका मंगलहरु भत्किएका छन् भने बिर्को नै चोरी भएपछि रात साँझ हिड्नुपर्ने यात्रुलाई ढल भित्र फसिएला कि भन्ने डर छ ।

ढलको मंगल नै चोरी भएपछि वर्षाका बेला पानी निकास हुने मंगलहरु पुरिएका छन् । स्थानीयले पटक पटक आग्रह गर्दा पनि सरोकारवाला निकायले यो सडक मर्मत र व्यवस्थापनमा ध्यान दिएको छैन ।

यो सडकको दूरावस्थाले संघीय राजधानीलाई कुरुप मात्रै बनाएको छैन सवारी आवागमन र स्थानीयवासीहको दैनिकीमा समेत असर परेको छ ।

सरकारले तरकारी तथा फलफूल व्यापार सहजीकरणका लागि तोकेको क्षेत्र हो यो । कुलेश्वर महादेव स्थानमा रहेको फलफूल बजारमा दैनिक हजारौ सर्वसाधारणको ओहोरदोहोर हुने गरेको छ । तर यो सडकले त्यहाँ पुग्ने हरेकलाई सास्ती मात्र दिने गरेको छ ।

यो दृश्य चाँही राजधानीको सबैभन्दा व्यस्त र अति विशिष्ठहरुको समेत दैनिक ओहोरदोहोर हुने लैनचौरको हो । जुन बाटो हुँदै मुलुकको कार्यकारी प्रधानमन्त्रीदेखि मन्त्रीरसचिवर सांसद ओहोरदोहोर गर्छन् । तर कसैलाई पनि यो सडकलाई तन्दुरुस्त बनाउने चासो भने छैन । तीन तहका सरकारबीच सडक निर्माण र सम्हारको जिम्मेवारी तोकिएको छ । तर हरेक निकाय एक ले अर्को पक्षलाई देखाएर पन्छने गरेका छन् ।

साँस्कृतिक सहर काठमाडौंको मौलिकतासँगै सहरी सडक व्यवस्थापनमा सरोकारवालाले चासो दिन नसक्दा दूरदराजका नागरिकले सुनेको भन्दा फरक छ आजको काठमाडौं ।

सिंहदरबारको आँखै अगाडिका सडक समेत मर्मतसम्भार हुन नसक्दा धुवाँ र धुलोले काठमाडौंमाथि शासन गरिरहेको छ भने राजधानीबासीन्दाको दैनिकी पनि असहज बनेको छ । दुर्घटनाको जोखिम समेत बढेको अवस्थामा सरोकारवाला निकायले कामलाई तिब्रता दिन जरुरी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *