Main News

९ लाखभन्दा बढीले उपत्यका छाडे, दुर्घटना कम गराउन खटिँदै ट्राफिक प्रहरी

हिमालय टिभी
२०७८ असोज २७ गते ९:१७
९ लाखभन्दा बढीले उपत्यका छाडे, दुर्घटना कम गराउन खटिँदै ट्राफिक प्रहरी

२७ असोज, काठमाडौं । दशैँ शुरु भएसँगै काठमाडौं उपत्यका छाडेर घर जानेको सङ्ख्या ९ लाख नाघेको छ । घटस्थापनाको दिनदेखि हालसम्म झन्डै ९ लाखभन्दा बढीले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

चाडपर्वको समयमा हुन सक्ने दुर्घटना कम गर्न ट्राफिक प्रहरीले विभिन्न राजमार्गमा जाँच तथा विश्रामको व्यवस्था गरेको छ । चालकले मादक पदार्थ सेवन गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र तीव्र गतिमा बस चलाउने भएका कारण जाँचलाई निरन्तरता दिइएको प्रदेश १ को ट्राफिक प्रहरी प्रवक्ता सुमन तिम्सिनाले जानकारी दिनुभयो ।

त्यसैगरी गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु्र प्रसाद ढकालले दाउन्ने, गैडाकोट, स्याङ्जाको राम्दी लगायतका क्षेत्रमा दिनरात चेकिङ गर्ने गरेको बताउनुभयो ।

क्षमताभन्दा धेरै यात्रु राखेर दिनरात गाडी चलाउँदा दुर्घटनाको जोखिम हुने निष्कर्ष निकाल्दै नेपाल प्रहरीले नवलपरासी, सिन्धुलीको खुर्कोट लगायत देशभरका १७ स्थानमा रिफ्रेस सेन्टर अर्थात विश्रामस्थलको व्यवस्था गरेको छ ।

कर्णाली प्रदेशमा दुर्घटना रोक्न यात्रुलाई पनि सम्झाउने गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले बताउनुभयो । लामो दुरीका सार्वजनिक सवारी साधन धनीले एउटै चालक राख्न नमिल्ने व्यवस्था सरकारले गरेको छ । तर त्यसको पूर्ण कार्यान्वयन नभएको यात्रुहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *