राजनीति

गजेन्द्रबहादुर हमाल नियुक्ति र राजीनामाः प्रधानमन्त्री र गठनबन्धनका नेताहरुलाई चै उन्मुक्ति ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २६ गते १९:५४
गजेन्द्रबहादुर हमाल नियुक्ति र राजीनामाः प्रधानमन्त्री र गठनबन्धनका नेताहरुलाई चै उन्मुक्ति ? (भिडियो रिपोर्टसहित)

२६ असोज २०७८ काठमाडौं । चौतर्फी आलोचना भएपछि मन्त्री नियुक्त भएको तेस्रो दिनमै गजेन्द्रबहादुर हमालले राजीनामा दिनुभयो । तर मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक रुपमा क्षमायाचना समेत गर्नुभएको छैन ।

गैरसांसदलाई मन्त्री बनाउनुमा प्रधानमन्त्री देउवा मात्रै हैन सत्तारुढ गठनबन्धनका नेताहरु पनि दोषी छन् । हमालले राजीनामा दिएपछि यो विषय सकियो भनेर उनीहरुले उन्मुक्ति पाउने भन्ने हुँदैन ।

गठन भएको ८८ दिनसम्म सरकार विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले निकै आलोचना खेप्नु पर्यो । लामो समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा भन्दा गैरसांसदलाई त्यहाँमाथि पनि प्रधानन्यायाधीशको कोटामा मन्त्री नियुक्त गरेकोमा देउवाको आलोचना बढी भयो ।

यसअघि चार पटक सरकारको नेतृत्व गरिसकेका देउवाले पाँचौ पटक प्रधानमन्त्री हुँदा पनि नसुध्रिने सन्देश दिनुभयो । हमाल प्रकरण त एउटा प्रतिनिधि घटना मात्रै हो यसमा मुख्यव्यक्ति भएकाले देउवा मुख्य दोषी हुनुहुन्छ । सरकार गठबन्धनमा आवद्ध दलका नेता पनि दोषका हिस्सेदार छन ।

एउटा विशेष परिस्थितमा प्रधानमन्त्री चुनिएका देउवाको धरातल कमजोर थियो । यही कमजोरीको फाइदा उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रीमा भाग खोज्दा गठबन्धन पूरा गर्न तयार भए । गठबन्धन दलमा आवद्ध दलका नेताहरुको लाचारीको मूल्य राष्ट्रका लागि महंगो परेको छ । यसले सत्तागठबन्धनलाई नैतिक संकटमा पारेको विश्लेषक श्रीहरि अर्यालको बुझाइ छ ।

हमालको नियुक्तिलाई बचाउँ गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै गल्ती भएको पुष्टि गरिसक्नु भएको छ । गठबन्धन दलहरुले दबावमा आएर हमाललाई मन्त्री बनाएको देखिन्छ । दलहरुलाई यस्तो दबाब र प्रभाव कहाँबाट र किन आयो भन्ने जवाफ आमनागरिकले खोजिरहेका छन ।

प्रधानन्यायाधीश राणाले मन्त्रीपरिषद्‍मा मात्रै नभएर अघिल्लो ओली नेतृत्वको सरकारकाका पालामा पनि संवैधानिक निकायमा भागबण्डा खोजको आरोप लाग्दै आएको छ । राजनीतिक रुपमा समाधान हुनुपर्ने मुद्दाहरु एक पछि अर्को गरी अदालतमा पुग्दा प्रधानन्यायाधीश र न्यायाधीशहरुको महत्वकांक्षा बढ्न थालेको आँकलन भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्