Main News

विमानस्थलमा पनि दशैं मनाउन जाने-आउनेको भीड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २५ गते १६:४४
विमानस्थलमा पनि दशैं मनाउन जाने-आउनेको भीड (भिडियो रिपोर्टसहित)

२५ असोज २०७८ काठमाडौं । दशै नजिकिँदै गर्दा शहरी क्षेत्रका बसपार्क तथा विमानस्थलमा घर फर्कनेको भीड छ । कामको सिलसिलामा शहरमा भएका दशैं मान्न गाउँ गएका छन् । तर कतिपय यस्ता पनि छन्, जो दशैं मान्न काठमाडौं फर्केका छन् । जो जहाँ गए पनि परिवार भेट्न पाउने भएकाले उनीहरु खुसी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य समयमा भन्दा चहलपहल बढी छ । दशैंका लागि संघीय राजधानी छाडेर गाउँघर फर्कनेको लर्को विमानस्थलमा पनि छ । विमानस्थलमा शहरबाट गाउँ जाने मात्र हैन । काठमाडौं आउने पनि छन् । घर परिवार काठमाडौंमा भएका तर पढाई तथा कामका सिलसिलामा बाहिर रहेका काठमाडौं फर्केका छन । उनीहरु परिवार भेट्न पाउँदा खुसी छन् ।

धरान घर भएकी शान्ता विश्वकर्मालाई भने यो दशैं, काठमाडौंमा बसेकी छोरी भेट्ने र जीवन मै पहिलोपल्ट जहाज चढ्ने अवसर जुरेको छ ।

काठमाडौं आउनेको मात्रै होइन, उपत्यका छाडेर गाउँघर जानेको खुशी पनि कहाँ कम छ र ? त्यसैले त दशैं आफन्त भेट्ने र दुख मेट्ने अवसर बनेको छ ।

पोहोर कोरोनाका कारण धेरैले परिवारभन्दा टाढा काठमाडौंमा बसेर दशैं मनाएका थिए । यसपाली पनि कोरोना कहर त सकिएको छैन । तर पनि धेरै जना कोरोनाको डरलाई बिर्सिएर दशैं मनाउन घर गएका छन् ।

हवाई मार्गबाट घर जाने यात्रु बढेपछि विमानस्थल पनि व्यस्त भएको छ । हिजोआज दैनिक डेढ सयसम्म आन्तरिक उडान हुने गरेका छन् । दशैंलाई मध्यनजर गरेर नेपाल उड्ययन प्राधिकरणले स्पेसल फेस्टिभल सेड्युल बनाएको छ ।

काम विशेष र अन्य कारणले लामो समय भेट्न नपाएकाहरु एकै ठाउँ भेला भएर मान्यजनबाट आार्शिवाद लिएर दशैंलाई सुखद् बनाउने योजनामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *