Main News

पर्यटकीय गाउँ घान्द्रुक जाँदै गरेको जीप दुर्घटना, आठ जनाको अवस्था गम्भीर

हिमालय टिभी
२०७८ असोज २५ गते १६:१३
पर्यटकीय गाउँ घान्द्रुक जाँदै गरेको जीप दुर्घटना, आठ जनाको अवस्था गम्भीर

२५ असोज, २०७८ कास्की । पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटना भएको छ ।

पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जीपमा चालकसहित १० यात्रु सवार रहेका र आठ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । स्थानीयवासीका अनुसार एक जनाको उद्धार गरिएको र अधिकाँसको मृत्यु भएको छ । एक जनाको उद्धार जारी रहेको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको जानकारीपछि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दुर्घटनामा परेर केहीको मृत्यु भएको भन्ने जानकारी आएको छ, हामी घटनास्थलतर्फ जाँदैँछौँ, अस्पताल ल्याएपछि मात्र अवस्था थाहा होला ।” घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

स्थानीय प्रहरी तथा स्थानीयवासीले घाइतेको उद्धार गरी अस्पताल ल्याउँदै गरेको अन्नपूर्ण–११ का वडाध्यक्ष हिम गुरुङले जानकारी दिनुभयो । जीप रिजर्भ गरेर घुम्नका लागि आएका पर्यटक दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *