Main News

बुटवलको मोतिपुरमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ३ पुग्यो, कर्फ्यु आदेश जारी

हिमालय टिभी
२०७८ असोज २४ गते १८:४७
बुटवलको मोतिपुरमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ३ पुग्यो, कर्फ्यु आदेश जारी

२४ असोज २०७८ बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी र प्रहरीबीच भएको झडपमा परी तीन जनाको मृत्यु भएको छ । २५ प्रहरीसहित ५० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकामध्ये तीन जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सुनिल गुरुङले जानकारी दिनुभयो ।

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो । झडपमा घाइते भएकाहरुको अहिले जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

आज दिउँसो औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हो। भीडलाई तितरवितर पार्न प्रहरीले करिब ३ दर्जन हवाई फायर समेत गरेको थियो ।

सो क्षेत्रमा अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उपस्थिति बढाइएको छ । जग्गा कब्जा गर्न आएका स्थानीयको पनि भीड रहेको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

यसैबीच, अवस्था थप तनावपूर्ण बन्न नदिन भन्दै स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । आज अपरान्ह ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका(१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु लगाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *