भारी बोकेर जिविकोपार्जन गरिरहेकाहरुमा छैन दशैंको उत्साह (भिडियो रिपोर्टसहित)
२४ असोज २०७८ काठमाडौं । यस वर्षको दशैं छपक्कै लागेको छ । कोरोनाले थला परेको व्यापार व्यवसाय विस्तारै तङ्ग्रिदै छ। काठमाडौंका न्युरोड लगायतका मुख्य बजार बजार क्षेत्रमा दशैंको किनमेल गर्नेहरुको घुँइचो छ। तर यही न्युरोडका गल्लीहरुमा भारी बोकेर जिविकोपार्जन गरिरहेका भरियाको भने दशैंको किनमेल र घर जाने उत्साह खासै देखिँदैन ।
दशैं धनीका लागि अनि गरिबका लागि दशा । राजधानी काठमाडौंको न्यूरोड बजार क्षेत्रमा हुनेखाने र हुँदा खाने दुबैको भीड छ । हुने खानेलाई सामानको मोलमोलाइको चटारो छ, हुँदा खाने भरीयालाई भने भारी खोज्नकै चटारो । भारी नपाए भारी मनले रित्तै घर फर्कनेलाई दशैंले कहिले र कसरी छोला ?
नेपालीहरुको महान चाड बडा दशैंले नेपालीहरुको घर आँगनमा पाइला टेकिसकेको छ । दशैं लागेसँगै काठमाडौंको न्युरोड बजार थप व्यस्त देखिन्छ । अघिल्लो वर्षको दशैंमा कोरोना संक्रमणको जोखिमका कारण बन्द बजार यो वर्ष जोखिम कम भएसँगै किनमेल गर्न आउनेहरुको भीडले भरिभराउ देखिन्छ ।
न्यूरोड क्षेत्रका बाटोघाटो पनि सावरी साधनको चाप र किनमेलका लागि ओहोरदोहोर गर्नेको भीडले छिचोलि साध्यै छैन । यहि भिडमा भेटिनुहुन्छ सिन्धुलीका हिराबहादुर ।
विगत २५ वर्षदेखि यसै क्षेत्रमा भरियाको काम गदै आउनुभएका सिन्धुलीका हिराबहादुर लाई दशैंको रौनकले खासै छोएको छैन ।
उहाँ कमाइ नभएका कारण यस पालिको दशैंमा घर जाने नजाने दोधारामा हुनुहुन्छ ।
यता विगत ३० वर्षदेखि यसै क्षेत्रमा भरियाको काम गदै आउनु भएका हरिप्रसाद ढुङ्गाना भने दशैं मनाउन खासै उत्साह नभए पनि दशैंमा जहान परिवारका लागि केही लत्ता कपडा र नुनतेल किनेर घर जाने बताउनु हुन्छ ।
त्यस्तै अर्का राजु परियार पनि भरियाको काम र यसको कमाइबाट सन्तुष्ट भने हुनुहुन्न तर पनि आफ्नै देशमा केही गर्न पाएकोमा खुशी हुनुहुन्छ ।
उहाँ जस्तै भोज बहादुर परियारलाई पनि बेरोजगारीका कारण भरियाको काम गर्न बाध्य भएकाले सरकारले रोजगारी दिलाओस् भन्ने आशा छ ।
त्यस्तै केही समय अगाडीदेखि काम शुरु गरेका दिलबहदुर परियारलाई फुटपाथमा काम गर्ने भरिया त हो भनेर ठुलाबढाले हेप्ने गरेकोमा दुख लाग्ने बताउनु हुन्छ । उहाँ दशैंमा घर जाँदा केही लुगा फाटा र जुत्ता किनेर लैजाने बताउनुहुन्छ ।
दशैंमा राम्रो लाउने र मीठो मसिनो खाइ आफ्नो घरपरिवारमा बसेर रमाइलो गर्ने रहर सबैमा हुन्छ । तर हाम्रोे जस्तो विकासोन्मुख देशमा कतिपय बाध्यता र विवसताका कारण सबैका रहर पुरा हुँदैनन् ।
पेट पाल्न र एकसरो कपडा लागाउन युवा अवस्थाको जोश जाँगर हुँदादेखी बुढौली तिर ढल्किँदै गरेको उमेरसम्म पनि भरियाको काम गर्न बाध्य यी मजदुरलाई योग्यता र क्षमताको आधारमा कुनै सिर्जनात्मक र उपयोगी रोजगारीको सृजना गरिदिने कुरामा सरकारले चासो देखाउनु आवश्यक छ ।
प्रतिक्रिया