Main News

८८ दिनमा सरकारले पायो पूर्णता, ११ नयाँ अनुहार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २२ गते २०:४४
८८ दिनमा सरकारले पायो पूर्णता, ११ नयाँ अनुहार (भिडियो रिपोर्टसहित)

२२ असोज २०७८ काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको ८८ दिनमा सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री देउवाको नेतृत्वमा २२ मन्त्री र ३ राज्यमन्त्री गरी २५ सदस्यीय मन्त्रिषरिषद् बनेको छ ।

शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसबाट सरकारमा एक राज्यमन्त्रीसहित ८ मन्त्री बनेका छन् । नेपाली कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँड हुनुहुन्छ भने सूचना तथा सञ्चार मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरिएको छ।

दुवै मन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नियुक्त भएकै दिन नियुक्त गर्नुभएको भएपनि कार्कीलाई भने कानून मन्त्रालयबाट सूचना तथा सञ्चारमा सारिएको हो । त्यस्तै परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का यसअघि नै नियुक्त भइसक्नुभएको छ । उहाँलाई प्रधानमन्त्रीले गत असोज ६ गते मन्त्री नियुक्त गर्नु भएको हो ।

रक्षामन्त्रीमा डाक्टर मीनेन्द्र रिजाल नियुक्त र दिलेन्द्रप्रसाद बडुले कानून न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । खानेपानी मन्त्रीको जिम्मेवारी उमाकान्त चौधरीले पाउँदा उमा रेग्मी महिला बालबालिका जेष्ठ नागरिक मन्त्री बन्नु भएको छ ।

त्यस्तै नेपाली कांग्रेसबाटै गैरसांसद गजेन्द्र हमाल पनि मन्त्री बन्नु भएको छ । उहाँले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । यस अघि स्वास्थ्य राज्यमन्त्री बनेका उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा रहनेगरी राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

सत्तारुढ दलको अर्को घटक नेकपा माओवादी केन्द्रले पाँच मन्त्रालय पाएको छ । माओवादीबाट पम्फा भुसालले सरकारको नेतृत्व गर्नुभएको छ। भुसाल उर्जा मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ भने जनार्दन शर्माले अर्थमन्त्रालय सम्हाल्दै आउनु भएको छ । भुसाल र शर्मा सरकार गठन भएकै दिन मन्त्री बन्नु भएको थियो ।

सरकारले पूर्णता पाएको दिन माओवादी केन्द्रबाट तीन जनाले मन्त्री बन्ने अवसर पाएका छन् । देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्दा शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त हुनु भएको छ । माओवादीबाट महेश्वरजंग गहतराज युवा तथा खेलकुद मन्त्री नियुक्त हुनु भएको छ । यसैगरी बोधमायाकुमारी यादवले माओवादी केन्द्रका तर्फबाट शिक्षा राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ।

माओवादी केन्द्रकै बराबरी मन्त्रालय पाएको नेकपा एकीकृत समाजवादीबाट विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी पाउँदा रामकुमारी झाँक्रीलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कृष्णकुमार श्रेष्ठ किसान नियुक्त हुँदा प्रेम आलेले संस्कृति पर्यटन नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । त्यस्तै एकीकृत समाजवादीबाट भवानीप्रसाद खापुङले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।

चार मन्त्रालय भागमा परेको जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त हुनु भएको छ । रेणु यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त हुँदा रामसहाय यादव वन मन्त्रीमा नियुक्त हुनु भएको छ । जसपाबाट महिन्द्र राय यादव कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त हुनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *