Main News

गठन भएको तीन महिनापछि आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

हिमालय टिभी
२०७८ असोज २२ गते ७:२७
गठन भएको तीन महिनापछि आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

२२ असोज २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको झण्डै ३ महिनापछि आज मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ।

सत्तारुढ चार दलका शीर्ष नेताहरुले मन्त्रालय भागबण्डा टुंगो लगाएका छन् । अब आज मन्त्रिपरिषद् विस्तार हुने र आजै मन्त्रीहरुको शपथ लिने सत्तारुढ दलका नेताहरुको दावी छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी जसपाका शीर्ष नेताहरुले मंगलबार मन्त्रालयको संख्या भागबण्डा गरेका थिए ।

कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति भएको थियो । र, कुन–कुन मन्त्रालय भन्ने टुंगो लगाएर हिजो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थियो । तर एकीकृत समाजवादीका नेताहरुले आफूहरुले पाएका मन्त्रालयमा असन्तुष्टि जनाएको थियो ।

त्यसलाई सम्बोधन गर्न गठबन्धनका नेताहरु फेरि छलफलमा जुटेर मन्त्रालयको भागबण्डाले अन्तिम रूप पाएको हो । सहमति अनुसार एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ ।

सरकारमा जाने मन्त्रीको टुंगो लगाउन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई दिएको जसपाले पनि अझै मन्त्री छान्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *