Main News

प्रदेश सभा बैठकमा मुख्यमन्त्री राउतको आलोचना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २१ गते ७:२९
प्रदेश सभा बैठकमा मुख्यमन्त्री राउतको आलोचना (भिडियो रिपोर्टसहित)

२० असोज २०७८ काठमाडौं । मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियानका क्रममा भएको भनिएको आर्थिक अनियमितता र अख्तियारको छापाको विषयलाई लिएर प्रदेश २ को प्रदेश सभामा सरकारको चर्को आलोचना भएको छ । प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री लालबाबु राउतको आलोचना भएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन भन्दै बसेको प्रदेशसभाको बैठकमा सांसदहरुले प्रदेशमा भएको आर्थिक अनियमितताको विषय जोडतोडका साथ उठाए । प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत प्रदेशका छात्राका लागि साइकल किन्ने नाममा करोडौं भ्रष्टाचार गरेको भन्दै केही सांसदहरुले मुख्यमन्त्रीको राजीनामा समेत मागे ।

यसअघि सत्ता सहयात्री नै रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अख्तियारविरुद्वको आन्दोलनलाई लक्षित गर्दै संवैधानिक निकायले भ्रष्टाचारको अनुसन्धान गर्दा संघीयता कसरी धरापमा पर्छ भन्दै प्रश्न गर्‍यो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि साइकल वितरणमा भ्रष्टाचार भएको दावी गर्दै अनुसन्धान र छानबिन हुनुपर्ने तर्क गरेको छ ।

सबै शक्ति र श्रोतको अधिकार, केन्द्र सरकारले नै राखेको भन्दै विगतदेखि नै असन्तुष्टि व्यक्त गर्दै आएका मुख्यमन्त्री राउतले पाएको अधिकारको भने चरम दुरुपयोग गरिरहेको आरोप सांसदहरुको छ । सुशासनको नारा जप्ने र अख्तियारविरुद्ध नै खनिने द्वैध चरित्र मुख्यमन्त्रीले देखाएर गाइजात्रा गरेको एमाले सांसदको आरोप छ ।

प्रदेशका सत्ता साझेदार कांग्रेस र माओवादीले पनि महत्वकांक्षी योजनामा सत्ता सहयात्री दललाई बाइपास गर्ने गरेको भन्दै मुख्यमन्त्रीविरुद्ध असन्तुष्टि व्यक्त गरे ।

सुशासन कायम गर्न अख्तियारलाई सघाउनुको साटो विषय तोडमरोड गर्नतर्फ लागेका मुख्यमन्त्री राउतले भने संसदबाट पनि अख्तियारलाई चुनौती दिनुभयो ।

बेटी पढाउ बेटी बचाउ अभियानका लागि पटक पटक गरी ४१ हजार २ सय ६२ साइकल खरिद गर्दा ११ करोड बढी हिनामिना भएको आशंकामा उजुरी परेपछि अख्तियारले छानबिन थालेको छ ।

अनियमितको आरोप लागेपछि छानबिन गर्ने निकायमाथि नै चोर औंला उठाउने मुख्यमन्त्री राउत पहिलो व्यक्ति भने हुनुहुन्न राजनीतिमा लाजनीति हुँदैन भन्ने भनाइलाई यसअघि धेरै राजनीतिज्ञहरुले पुष्टि गरिसकेकै हुन् । तर आफू निर्दोष रहेको भन्दै सार्वजनिक स्थानहरुमा अख्तियारविरुद्ध विषवमन गर्नुभन्दा छानबिनमा मद्दत गरी घटनाको सहज अवतरण गराउनु बुद्धिमता हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *