Main News

के अब पनि राजतन्त्र फर्किन सम्भव छ त ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २१ गते ७:१५
के अब पनि राजतन्त्र फर्किन सम्भव छ त ? (भिडियो रिपोर्टसहित)

२१ असोज २०७८ काठमाडौं । नेपालमा राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापना भएको पनि करिब डेढ दशक भयो । नारायणहिटी राजदरबार पनि संग्रहालयमा परिणत भएको लामो समय भैसकेको छ भने राजाले लगाउने श्रीपेच प्रदर्शनमा राखिएको छ ।

समय धेरै अघि बढिसकेको अवस्थामा पूर्वराजा ज्ञानेद्रलाई राजसंस्था फर्किन्छ भन्नेमा विश्वास छैन होला तर नेपालका कम्युनिष्ट पार्टीका केही नेताहरुमा भने अझै पनि राजतन्त्रको भूत सवार छ । के अब पनि राजतन्त्र फर्किन सम्भव छ होला त ?

राजतन्त्र समाप्त गरी गणतन्त्र स्थापनाको आधार ६२–६३ को जनआन्दोलनमा सहभागी राजनीतिक दलहरुमध्ये मुख्य घटक थियो तत्कालीन नेकपा– माओवादी । अहिले माओवादी क्रान्तिकारीका अध्यक्ष रहेका मोहन वैद्य माओवादीका प्रभावशाली नेता हुनुहुन्थ्यो ।

यस अर्थ गणतन्त्र ल्याउनमा वैद्यको पनि महत्वपूर्ण योगदान छ । तर उहाँलाई आजभोलि खै किन हो किन गणतन्त्रप्रति नैराश्यता उत्पन्न भएको छ भने चितामा पुगिसकेको भनिएको राजतन्त्रप्रति उहाँको आश्चर्यलाग्दो मोह पलाएको छ ।

त्यसैले त वैद्यले आजभोलि भन्न थाल्नु भएको छ– कम्बोडियाका राजा सिंहानुकजस्तो बन्न तयार भए पूर्व राजा ज्ञानेन्द्रसँग सहकार्य गर्न सकिन्छ । वैद्यले नारायणहिटीबाट निर्मल निवास पुगेका पूर्वराजा ज्ञानेन्द्र सर्त मान्न तयार भए राजसंस्था फर्काउन सकिन्छ भन्नुलाई आश्चर्यजनकरुपमा लिइएको छ। राजसंस्थाको विषयमा पुनर्विचार गर्नुपर्ने मनस्थितिमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे पनि पुग्नु भएको छ ।

नेमकिपा त्यही पार्टी हो जो गणतन्त्रको पक्षमा उभिएको थियो र छ पनि । आफूलाई कम्युनिष्ट बताउने र सात दशक गणतन्त्रका लागि लडेको बताउने नेताहरु पछिल्लो पटक राजावादीभन्दा बढी राजसंस्थाको पक्षमा वकालत गर्न अग्रसर भएका छन् ।

उसो त एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र महेश बस्नेतले पनि एमालेको बैठकमा संघीयता खारेजी र धर्म निरपेक्षताका विषयमा पुनर्विचार गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । उता वैकल्पिक राजनीतिको ठेक्का लिएका रवीन्द्र मिश्रले पनि गणतन्त्रप्रति नै वितृष्णा पोख्दा कतियपले प्रस्थानविन्दु राजतन्त्र मानेका छन् । यसले त स्वयम् राजावादीहरु नै आश्चर्यमा परेका छन् ।

आफूहरुले भन्दा गणतन्त्रवादीहरुले नै राजसंस्था फर्काउनुपर्छ भनेर सार्वजनिक बहस गर्न र वकालत गर्न थालेपछि त राजावादीहरु दंग पर्नु स्वभाविकै हो । कम्युनिष्ट मात्रै नभएर १२ बुँदे सहमति गरेका सबै राजनीतिक दलहरु राजसंस्था फर्काउनुपर्छ भन्नेमा पुगिसकेको वरिष्ठ अधिवक्ता विष्णुप्रसाद भट्टराईको दाबी छ ।

व्यवस्था आफैंमा गलत हुँदैन , कम्युनिष्ट व्यवस्था भएका देशले पनि प्रगति गरेकै छन्, लोकतान्त्रिक देशहरु र राजतन्त्र भएका देशहरुले पनि उन्नति गरेकै छन् । नाँच्न नजान्ने आँगन टेढौं भनेझैं नेपालमा भने गल्ती गर्ने आफूले तर दोष चाहीँ व्यवस्थालाई दिने गरिएको छ । त्यसैले त अहिलेको व्यवस्था परिवर्तन नगरिए देश नै समाप्त हुने चेतावनी दिन थालिएको छ ।

राजावादीहरुले गणतन्त्रको विरोध गर्नु र राजसंस्थाको पक्षमा वकालत गर्नु धर्मै हो तर हिजो आफूलाई खाँटी गणतन्त्रवादी भन्नेले अहिले आएर राजतन्त्रको पक्षमा वकालत गर्नु त मुर्खता शिवाय केही नभएको विश्लेषकहरुको भनाइ छ । त्यहीमाथि अहिले गणतन्त्रको विकल्पको विषयमा बहस गर्ने समय हो र ? दुईचार जना नेताले चाहँदैमा गणतन्त्र फालेर राजतन्त्र ल्याउन सम्भव होला ?

गणतन्त्र देशमा आएको डेढ दशक भएपनि अझै राम्रोसँग जरा गाड्नै पाएको छैन । हाँगा हाल्नै बाँकी छ । फल दिन त समय पक्कै लाग्छ । यो व्यवस्थामा पनि कमीकमजोरी होलान्, कमीकमजोरी भए सच्याउने हो । व्यवस्थालाई बलियो बनाउने हो । हरेक दशक व्यवस्था परिवर्तन गर्दै जाने र व्यवस्थाको विरोध गरिरहने हो भने देश कहिले पनि उभो लाग्न सक्दैन् भन्ने हेक्का हुन जरुरी छ ।

अहिले लोकतन्त्र र गणतन्त्रको विकल्प निरंकुशतन्त्र र राजतन्त्र हुनै सक्दैन । लोकतन्त्रको विकल्प केही छ भने त्यो लोकतन्त्र नै हो । लोकतन्त्रमा नै हो जनताले चाहेमा राष्ट्रपति फेर्न सक्छन्, प्रधानमन्त्री फेर्न सक्छन् । तर राजा त राजाले पनि फेर्न सक्दैनन् नि ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *