Main News

साइकल खरिदमा कुनै अनियमितता नभएको प्रदेश २ सरकारको प्रष्टीकरण

हिमालय टिभी
२०७८ असोज २० गते १८:२६
साइकल खरिदमा कुनै अनियमितता नभएको प्रदेश २ सरकारको प्रष्टीकरण

२० असोज २०७८ काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत खरिद गरिएका साइकलको कम्पनी र खरिद प्रक्रिया सार्वजनिक गरेको छ ।

साइकल खरिद प्रक्रियामा कुनै अनियमितता नभएको दाबी गर्दै मुख्यमन्त्री कार्यालयले खरिदसम्बन्धी सबै कागजात सार्वजनिक गरेको हो ।

सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्रालाई वितरणका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा गत बुधबार छापा मारेको थियो ।

मुख्यमन्त्री लालबाबु राउत र उहाँको दल जनता समाजवादी पार्टी (जसपा)ले स्वायत्त संस्थाविरुद्ध अख्तियार छापामार शैलीमा प्रस्तुत भएको भनेर विरोध गर्दै आएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्ष दुई खेपमा २७ हजार २ सय ३८ साइकल खरिद भएको छ । पहिलो लटको १७ हजार २ सय ३८ साइकल खरिदका लागि ५ वटा कम्पनीले टेन्डर कबोल गरेको थियो । जसमध्ये कम मूल्य कबोल गर्ने ओम सत्य साई प्रालिलाई साइकल खरिदको सहमति दिएको थियो ।

सत्य साईले भारतीय कम्पनी अम्बिकामार्फत ९ करोड ८२ लाख ५६ हजार ५ सय ४८ रुपैयाँमा १७ हजार २ सय ३८ साइकल खरिद गरेको थियो । यस्तै, दोस्रो लटमा खरिद गरिएको १० हजार साइकलको इबिडिङमा तीनवटा कम्पनीले टेन्डर कबोल गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

दोस्रो लटको साइकल खरिदमा कम मूल्य कबोल गरेको सान्यो इन्टरनेशनलले भारतीय कम्पनी हाई इन्ड ब्राण्डको साइकल खरिद गरेको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा पहिलो लटभन्दा दोस्रो लटको साइकलको तौल एक किलो बढी भएको र अत्याधुनिक रहेकाले प्रतिसाइकल खरिद मूल्य बढेको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *