सवा तीन करोड कोरोनाविरुद्धको खोप मात्रा केही दिनमै नेपाल भित्रने

२० असोज २०७८ काठमाडौं । कोरोनाविरुद्धको सवा तीन करोड मात्रा खोप केही दिनभित्रै नेपाल भित्रिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको हो ।
विभिन्न देशबाट विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोपमध्ये फाइजर, कोभिसिल्ड, भेरोसेल खोप केही दिनभित्रै नेपाल भित्रिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालका अनुसार तत्काल भारतबाट कोभिसिल्ड खोप १० लाख मात्रा आउन लागेको छ ।
चीनबाट थप १६ लाख मात्रा खोप अनुदानमा आउने भएको छ । दशैँलगत्तै एक लाख फाइजर खोप आउने छ । उक्त खोप अस्पतालमा रहेका दीर्घरोगीहरूलाई लगाइने छ ।
फाइजर खोप १२ देखि १८ वर्षसम्मका बालबालिकालाई समेत लगाउन मिल्ने खोप हो । माल्दिभ्सबाट दुई लाख मात्रा खोप पनि छिट्टै आउन लागेको बताइएको छ ।
क्यानडाबाट चार लाख मात्रा खोप आउने भएको छ । यसैगरी, फाइजर खोप ६० लाख मात्राका लागि पनि प्रक्रिया शुरु भइसकेको जनाइएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार मोडर्ना खोप ४० लाखका लागि पनि सुनिश्चित भएर प्रक्रियामा रहेको छ ।
आगामी पुसभित्र सवा करोड खोप नेपाल आइसक्ने र नेपालले कोभ्याक्स सुविधामार्फत पाउने ६० लाख मात्रा खोप आउन बाँकी रहेको जानकारी उहाँले दिनुभयो ।
यस्तै, चीनसँंग खरिद सम्झौता भएको थप ६० लाख मात्रा खोप पनि नेपाल ल्याइने प्रक्रियामा छ । हालसम्म एक करोड ७८ लाख ५८ हजार मात्रा खोप यसअघि नै आइसकेको छ ।
प्रतिक्रिया