सरकार गठन भएको ८६ दिनपछि दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति
२० असोज २०७८ काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच सरकार गठन भएको ८६ दिनपछि मन्त्रालय बाँडफाँटमा सहमति भएको छ ।
हिजो बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाँडफाँट टुंग्याएको हो । दलहरुबीच कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले र जसपाले ४–४ वटा मन्त्रालय लिने सहमति भएको छ ।
तीन दलले १–१ राज्यमन्त्री पाउनेछन् । दलहरु अहिले मन्त्री छनौटको आन्तरिक गृहकार्यमा जुटेका छन् ।
आज मन्त्रीको नाम टुंगो लगाउने र भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने गठबन्धनका नेताहरुले दावी गरेका छन् ।
अब कांग्रेसले प्रधानमन्त्रीसहित गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ ।
माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय लिनेछ ।
जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण पाउनेछ ।
एकीकृत समाजवादीले कानून, शहरी विकास, श्रम तथा रोजगार, संस्कृति तथा पर्यटन मन्त्रालय पाएको छ । कांग्रेसले अहिलेका कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अर्कै मन्त्रालय दिनेछ ।
प्रतिक्रिया