राजनीतिक दलको आवरणमा यसरी बढ्दै भ्रष्टाचार (भिडियो रिपोर्टसहित)
१९ असोज २०७८ काठमाडौं । विकासन्मुख देश नेपाल, त्यसमाथि अस्थिर सरकार । राजनीतिक मुखुण्डो लगाएकाहरुले भ्रष्टाचारलाई प्रश्रय दिँदा देशमा भ्रष्टाचारको जरा गहिरिँदै गएको छ, भ्रष्टाचारी मोटाउने र आम जनता दुब्लाउने गति बढेको बढ्यै छ।
भ्रष्टाचारको लहरा यतिसम्म फैलिएको छ की एउटालाई समाउँदा पहरालाई खस्ने अवस्था छ । कर्मचारीतन्त्र, नेतादेखि तल्लोस्तरको कार्यकर्तासमेत भ्रष्टाचारका मतियार बन्दा नेपाल भ्रष्टाचार धेरै हुने मुलुकका रुपमा विश्वमा बदनाम छ ।
भ्रष्टाचारलाई देशको सबैभन्दा ठुलो शत्रुको रुपमा लिइन्छ । भ्रष्टाचारले नेपाललाई यसरी गालेको छ की कमिसन, घुस र लगानीविना ठुला काम हुनै सक्दैन भन्ने आम बुझाइ बन्दै गएको छ । विकास निर्माणको कामदेखि खरिद विक्रीसम्म हरेक क्षेत्रमा कमिशन र अनियमितताले स्थायी अखडा जमाएको छ। भ्रष्टाचारीलाई प्रश्रय दिन राजनीतिक नेतृत्व नै अग्रपंक्तिमा छ, परिआउँदा राजनीतिक नेतृत्व आफै भ्रष्टाचार गर्न तम्सिन्छ । राजनीति र राजनीतिको छत्रछाँँयामा ठुलाठुला भ्रष्टाचारका काण्ड भएका छन् ।
नेपालको इतिहासमा लाउडा, धमिजा काण्ड, चाइना साउथवेस्ट यस्ता ठूला काण्ड हुन् जसमा ठूलै पैसा झ्वाम् बनाइए, ठूलै मान्छेका नाम जोडिए र त मुद्दै सामसुम पारिए । सुडान घोटाला काण्ड, वाइड बडी खरिद अनि पछिल्लो सयममा सेक्युरिटी प्रिन्टिङ प्रेसकाण्ड राजनीतिक नेतृत्वकै अग्रसरतामा भएकाले कि कारवाहीको नाटक गरेर चोखाइए या आँखा चिम्लिएर सुन पानी छर्किइए ।
ओम्नी, नेपाल ट्रष्टको जग्गा प्रकरण अनि बालुवाटार जग्ग्गा प्रकरण त लोकलाजनै टारेर सत्तामा भागशान्ति गर्ने र छानबिन गर्ने निकायलाई पंगु बनाउने घटनाका प्रतिनिधि हुन् । भर्खर प्रदेश २ को साइकल काण्ड सतहमा आएपछि त जनप्रतिनिधि भ्रष्टाचारमा नाम जोडिँदा केसम्म हर्कत गरेर कसरी निर्लज्जताको प्रहसन देखाउँदा रहेछन् भन्ने थप पुष्टि भएको छ । राजनीतिक नेतृत्वको प्रत्यक्ष सहभागिता र राजनीतिको छत्रछायाँमा भ्रष्टाचारलाई प्रसय दिने काम भइरहेको मात्र छैन, यो संस्कृतिकारुपमा मौलाउँदै गएको छ ।
कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्का, जयप्रकाश गुप्ता, चिरञ्जीवी वाग्लेहरु राजनीतिको आडमा भ्रष्टाचार गरेको प्रमाणित भएकैले राजनीतिक आँगनका विरानो भए । गोविन्दराज जोशीले समेत राजनीतिक अस्त्र प्रयोग गरेर भ्रष्टाचारलाई प्रसय दिएकैले अहिले पनि नेपाली राजनीतिमा जोशीको नाम शुद्धताका लागि लिइँदैन ।
पछिल्लो पटक तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने नारा लाएपनि वाइडबडी खरिद काण्डको छानबिन अघि बढेन बरु उपसमिति बनाएर संसदलाई पंगु बनाइयो । तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोडको टेप प्रकरणको छानबिनको साटो बाँस्कोटालाई ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएर पुरस्कृत गर्नुभयो । ओम्नी , बालुवाटार काण्ड जस्ता काण्ड सतहमा देखिएता पनि यि प्रतिनिधि घटना मात्र हुन् ।
अख्तियारको आयुक्त नै मुद्दा मिलाउन पैसा माग्ने र अख्तियारको पूर्व प्रमुख नै अयिनमिततामा छानबिनको दायरामा आउने भएपछि दालमा कालो होइन दाल नै कालो भएको प्रमाणित भएको छ । नियामक निकाय अख्यिायार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकर्ता भर्ती केन्द्र र अकुत सम्पत्ति चोख्याउने अखडामा बदल्न खोजिएको छ।
१ हजार घुस खाएको झुठो आरोप लगाएर मान्छे समात्ने अख्तियार पनि ठुलो माछा समाउने आँट गर्दैन। आफैलाई नियुक्त गर्नेका विरुद्ध बोल्ने आँट नगर्ने अख्तियारमा विगतमा संस्थागत भ्रष्टाचारमा मुछिएका या मुछिनसक्ने पूर्व प्रशासक लैजाँदासम्म छानबिन पनि केटाकेटीको भाँडाकुटी खेल त हो नी ।
प्रतिक्रिया