त्रिविमा भ्रष्टाचार निवारण’ अध्ययन–अध्यापन शुरु (भिडियो रिपोर्टसहित)

१९ असोज २०७८ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पहिलो पटक स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ अध्ययन–अध्यापन शुरु गरेको छ । यो त्रिविको मानविकी तथा सामाजिकशास्त्र अन्तर्गत आफ्नै लागतमा सञ्चालित कार्यक्रम हो ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाको अध्ययनले नेपालमा भ्रष्टाचारको ग्राफ बढ्दै गएको देखाइरहँदा शुरु भएको यसैसम्बन्धी अध्ययनले व्यवहारिक पाटो सुधारमा पनि भूमिका खेल्नसक्ने अपेक्षा गरिएको छ।
भ्रष्टाचार निवारण गर्न दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले त्रिभुवन विश्व विद्यालयले ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको पढाई शुरु गरेको हो । चार सेमेष्टर रहने गरी दुई वर्षमा यो विषयको अध्ययन–अध्यापन गराइनेछ ।
यो पढाईले भ्रष्टाचारको पहिचान गरी निवारणका उपाय खोज्ने अनुसन्धानकर्ता उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल र वर्ल्ड इकोनमिक फोरमको पछिल्लो अनुसन्धान प्रतिवेदनले नेपाल विश्वमा भ्रष्टाचार गर्ने १ सय ८० वटा देशमध्ये १२२ औं स्थानमा रहेको देखाएको छ । यी प्रतिवेदन अनुसार सबैभन्दा बढी भ्रष्टाचार राजनीति र प्रशासनमा व्याप्त छ । तर दक्षिण एसियामा भने नेपाल श्रीलंकापछि पाचौं स्थानमा रहेको तथ्याङ्क छ । अधिक भ्रष्टाचारका कारण देश विकासमै समस्या उत्पन्न भएकाले विषयगत अध्ययनमार्फत यो क्षेत्रमा सुधार गर्न सकिने अपेक्षामा विद्यार्थी यसप्रति आकर्षित भएका छन् ।
भ्रष्टाचार विश्वकै चिन्ताको विषय भएकाले आवश्यक ज्ञान हासिल गरी यसविरुद्ध आवाज उठाउन सकिने विद्यार्थीको बुझाई छ ।
नेपालमा भ्रष्टाचारको श्रृंखला लामै छ । मुलुक प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा भ्रष्टाचारका घटना झनै बढेका छन् । यसविरुद्ध धेरै अभियान सञ्चालन भए तर न्यूनीकरणमा कुनै मद्दत पुगेको देखिँदैन । राज्य व्यवस्थाका नाइकेले आफ्नो चरित्रमा सुधार नल्याएसम्म भ्रष्टाचार कम नहुने भ्रष्टाचारविरोधी अभियन्ता बताउँछन् । यद्यपी यससम्बन्धी अध्ययनले सुशासनको सही अर्थ बुझाउँदै देशको अवस्था विश्लेषणमा मद्दत पुर्याउनसक्ने अपेक्षा गरिएको छ ।
नेपालमा शक्ति र पदको दुरुपयोग गर्नेको सूचीमा राजनीति र प्रशासनिक व्यक्ति अग्रपंक्तिमा अटाउँछन् । देश र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवार निकायहरुनै भ्रष्टचारमा लिप्त हुने गरेका कारण सुशासन भन्ने शब्दावलीलाई आम जनताले एकादेशको कथा झै मान्ने गरेका छन् । यस्तो अवस्थामा त्रिविले गरेको यो शुरुवात निकै सह्रानीय छ । यो नयाँ विषयको अध्ययन व्यवहारिक पाटो सुधारमा कत्तिको लागू हुने हो त्यो हेर्न भने कुर्नै पर्छ ।
प्रतिक्रिया