राजनीति

फेरि युद्धका कुरा किन ? कस्तो युद्ध चाहन्छन् प्रचण्ड ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १९ गते १४:०५
फेरि युद्धका कुरा किन ? कस्तो युद्ध चाहन्छन् प्रचण्ड ? (भिडियो रिपोर्टसहित)

१९ असोज २०७८ काठमाडौं । सशस्त्र युद्धको उपलब्धीस्वरुप दुईदुई पटक मुलुकको प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताबाहिर हुँदा अक्सर नयाँ युद्धको कुरा गर्नुहुन्छ । तर यसपटक भने सत्तारुढ गठबन्धनमै बसेर प्रचण्डले युद्धको कुरा निकाल्नु भएको छ । सार्वजनिक खपतका लागि मात्रै बोल्नु हुन्छ कि प्रचण्ड फेरि युद्ध नै चाहनुहुन्छ ?

४२ वर्षको उमेरमा जनयुद्ध थालेर ५२ वर्षको हुँदा शान्तिपूर्ण अवतरण गरेका प्रचण्ड अहिले ६७ वर्ष भैसक्नुभयो । तैपनि उहाँ अझै एकपटक एउटा लडाईं आवश्यक रहेको बताउनुहुन्छ ।

यसपटक सत्तारुढ गठबन्धनको हर्ताकर्ता भएकै अवस्थामा पनि उहाँले जनयुद्धको रटान लगाउँदा के साँच्चै प्रचण्ड र उहाँले नेतृत्व गर्ने पार्टी जनयुद्धमा जान सक्छ ? वा जाने तयारी गरिरहेको छ ? वा के फेरि मुलुकले हिंसात्मक राजनीति देख्नुपर्ने हो त भन्ने जिज्ञासा यदाकदा उब्जिन्छन् । तर प्रचण्डले भने हतियार नबोकी जनयुद्ध गर्ने नयाँ थ्योरी पस्कनु भएको छ ।

प्रचण्डले फेरि युद्ध गर्ने भन्न थालेको यो नै पहिलो वा दोस्रो पटक होइन । २०७६ साल वैशाखमै आफू फेरि एकपटक जंगल जानसक्ने उद्घोष उहाँले गर्नुभएको थियो । २०७७ फागुन २ गते माओवादी पार्टी कार्यालयमा २६ औं जनयुद्ध दिवसमा आयोजित कार्यक्रममा पनि प्रचण्डको सम्बोधन उही शैलीको थियो ।

आफूसँगै युद्ध लडेका सहकर्मी छुट्टै डुंगामा सवार हुन थालेपछि प्रचण्ड एक्लिनुभएको छ । त्यसैले यस्तो मनोविज्ञान उहाँमा देखिएको हुन सक्छ । तर माओवादीकै नेताहरुले परिमार्जनसहित प्रचण्डको अभिव्यक्तिको बचाउ गर्ने गरेका छन् ।

प्रचण्डको साथ छोडेकाहरुको भने बेग्लै तर्क छ । हुन पनि अहिले प्रचण्डका युद्ध सहकर्मीहरु साथमा छैनन् । कतिपय पार्टीभित्रको भागबण्डामा चित्त नबुझेर र कतिपय अर्को पार्टीमा ठूलो भाग देखेर लाखापाखा लागिसकेका छन् ।

हिजोसम्म प्रचण्डपथ भन्नेहरु स्वार्थको टपरी बोकेर सत्रुको भान्सामा पुगिसकेका छन् । पार्टीभित्रको एक्लोपन, कार्यकर्तास्तरमा बढ्दो अविश्वास र अल्छि लाग्दो कार्यशैली देखेर होला प्रचण्ड बेलाबखत युद्धको कुरा गरेर रगत तातो बनाउने प्रयास गरिरहनु भएको छ ।

बेलाबखत कार्यकर्ताका अगाडि रोइदिने, आत्महत्याकै अवस्थामा पुगेँ भनिदिने अनि त्यही मञ्चबाट जनयुद्ध गर्ने र जंगल पस्नेसम्मको अभिव्यक्ति दिने प्रचण्डको चरित्रमा आम कार्यकर्ता लगभग अभ्यस्त भइसकेका छन् । तैपनि कुबेलामा देखिने भावनात्मक उत्तेजनाले प्रचण्डको कद झनै घटाउँदै लगेको आभाष हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्