राजनीति

प्रधानमन्त्री देउवा असक्षमताको कीर्तिमानमाथि यस्तो कीर्तिमान बनाउँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १८ गते २०:३३
प्रधानमन्त्री देउवा असक्षमताको कीर्तिमानमाथि यस्तो कीर्तिमान बनाउँदै (भिडियो रिपोर्टसहित)

१८ असोज २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नाममा धेरै कीर्तिमान छन् । केही सकारात्मक काममा कीर्तिमान भए पनि धेरै नकारात्मक छन् । गत असारमा पाँचौ पटक प्रधानमन्त्री बनेका देउवाले विगतमा लागेको असक्षमताको दाग मेटाउने अवसर थियो । तर यसपटक पनि देउवाले तीन महिना हुनै लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेर असक्षमताको पराकाष्ठा नै नाघ्नु भएको छ ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट निर्वाचित २३ र समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका ४० गरी ६३ सांसद छन्, दुई जना निलम्बनमा परेपछि कांग्रेसका बहालवाला सांसदको संख्या ६१ हो ।

संसदमा रहेको सांसदको संख्यालाई आधार मान्दा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुरा असम्भव हो । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुई तिहाइ बहुमतको सरकार चलाउन नसकेपछि कांग्रेस सभापति देउवाको हातमा सरकारको नेतृत्व पुग्यो ।

संसदमा जम्मा ६१ सिट रहेको कांग्रेसका सभापति देउवा १ सय ६५ सांसदको समर्थनमा पाँचौं पटक प्रधानमन्त्री बन्दा देउवालाई भाग्यमानी मान्दा पनि भयो । ओलीको हठका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको प्रतिशोधका कारण प्रधानमन्त्री बन्ने अवसर पाउनु भएका देउवालाई यसपटक विगतका कमीकमजोरी सच्याउने र इतिहासमा लागेका दाग मेटाउने अवसर पनि थियो । तर उहाँले यसपटक पनि अवसरको सदुपयोग गर्ने र जनताका अपेक्षा पूरा गर्नबाट चुक्नु भएको छ ।

विगतमा जस्तै यसपटकको कार्यकालमा पनि देउवाले आफूलाई सक्षम प्रमाणित गर्न सक्नु भएन् । बरु थप असक्षमताको कीर्तिमान कायम राख्नु भयो । विगतमा ५४ सदस्यीय जम्बो मन्त्रिमण्डल बनाएर कीर्तिमान राखेका प्रधानमन्त्री देउवाले यसपटक त मन्त्रिमण्डल विस्तार गर्न नसकेकोमा पो कीर्तिमान कायम गर्नु भएको छ ।

गत असार २८ गते प्रधानमन्त्री बन्नु भएका देउवाले सरकारको नेतृत्व लिएको झण्डै तीन महिना पुग्नै लाग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेर अर्को कीर्तिमान कायम गर्नु लज्जास्पद विषय हो ।

मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुनुमा देउवा एक्लैको दोष नहुन सक्ला । यसमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको पनि उत्तिकै दोष होला तर सरकारको नेतृत्व गरेको नाताले पहिलो दोषको भागीदार देउवा नै हुनुहुन्छ भन्नेमा दुईमत छैन ।

देउवाले आफूलाई असक्षम सावित गरेको यो पहिलो पटक होइन । जीवित नेताहरुमा ५ पटक प्रधानमन्त्री बन्ने कीर्तिमान बनाउनु भएका देउवाका अनेक कीर्तिमान छन् ।

पहिलो पटक प्रधानमन्त्री हुँदा नै सांसद खरिद बिक्री, पजेरो र सुरासुन्दरी प्रकरणमा देउवाको अग्रसरता रह्यो । महाकाली सन्धी गर्दा एमाले पार्टी नै विभाजन भएको थियो ।

इतिहासमा सबैभन्दा धेरै मन्त्री बनाउने कीर्तिमान पनि उहाँकै नाममा छ । २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले त देउवालाई असक्षम नै घोषणा गरी प्रधानमन्त्रीबाट बर्खास्त गर्नु भएको थियो भने पछि २०६१ सालमा निर्वाचन गर्न नसकेको भन्दै ज्ञानेन्द्रले नै पुनः प्रधानमन्त्रीबाट हटाउनु भएको थियो ।

देउवाले प्रधानमन्त्री भएकै बेला तात्कालिन राजा ज्ञानेन्द्र समक्ष संसद विगठनको सिफारिस गरेपछि उहाँलाई प्रजातन्त्र दरबारमा बुझाएको आरोप पनि लाग्ने गरेको छ। यही घटनाकै कारण नेपाली कांग्रेस विभाजन भएपछि देउवाको नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन भएको थियो ।

संयोगले तत्कालीन नेकपा एमाले विभाजन भएर माले बन्दा पनि देउवा नै प्रधानमन्त्री हुनुहुन्थ्यो भने यसपटक एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन हुँदा पनि उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ ।

विगतमा यस्ता धेरै काण्डमा मुछिनु भएका र असक्षम प्रधानमन्त्रीको ट्याग भिर्नु भएका देउवाले विगतमा गरेका कमीकमजोरी सञ्चाउने अवसर र अपेक्षा थियो । यसपटक पनि उहाँ असक्षम सावित भएर तीन महिनासम्म सरकार विस्तार गर्न नसक्ने कीर्तिमानतिर उन्मुख हुनुभएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्