Main News

कोरोना पुष्टि भएकाहरु निर्वाध गाउँ जाँदा संक्रमणको जोखिम बढ्दो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १८ गते २०:१४
कोरोना पुष्टि भएकाहरु निर्वाध गाउँ जाँदा संक्रमणको जोखिम बढ्दो (भिडियो रिपोर्टसहित)

१८ असोज २०७८ नेपालगन्ज। चाडपर्व नजिकिएसँगै भारतीय सीमामा स्वदेश फर्किने नेपालीको घुइँचो लाग्ने गरेको छ । नेपालगन्ज नाका हुँदै फर्कने नेपालीहरुलाई सीमामा रोकेर एन्टिजेन परीक्षण गरिन्छ । पछिल्ला दिनमा सीमा नाकामा दैनिक ३ सयदेखि ४ सय जनासम्मको एन्टिजेन परीक्षण हुने गरेको छ ।

बिहीबार ३ सय २१ जनाको परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण देखिएको थियो । तर कोरोना पोजेटिभ देखिए पनि आइसोलेसन नहुँदा उनीहरु अन्य यात्रुसँगै बस चढेर गाउँतिर लाग्दा गाउँघरमा कोरोना भित्रिने जोखिम बढेको छ ।

सीमा नाकामा गरिने एन्टिजेन परीक्षणको रिपोर्ट पाउन यात्रुले २ देखि ३ घन्टा पर्खनुपर्छ । बिहान ६ बजेदेखि नै सीमा नाकामा भिड हुन्छ । त्यहाँ खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले घर फर्किँदै गरेका नेपालीलाई रोकेर जाँच गर्छन् । धेरै भीड हुन थालेपछि सोधपुछ गरेर १० जना मध्ये २र३ जनाको परीक्षण गर्ने र अन्यलाई रिपोर्ट नआउँदासम्म पर्खाएर राखिन्छ ।

दैनिक भारतबाट ठूलो संख्यामा नेपालीहरु आउने भएकाले सबैको परीक्षणसमेत सम्भव भएको छैन ।

रिपोर्ट नेगेटिभ आए समूहमा रहेका सबैलाई तत्कालै घर जान दिइन्छ भने पोजेटिभ आए त्यो समूहमा रहेका सबैको एन्टिजेन टेष्ट गरिन्छ । कोरोना पुष्टि भएकाको व्यवस्थापन भने निकै चूनौतीपूर्ण छ । व्यवस्थापनका लागि कसैले चासो नदिएको भन्दै संक्रमितलाईसमेत सार्वजनिक बस चढाएर घरै पठाउने गरिन्छ ।

भदौ १० गते देखि दैनिक १ देखि ३ जना कोरोना संक्रमित सार्वजनिक बस चढेर घर गइरहेका छन् । संक्रमितहरुलाई अस्पताल वा आइशोलेशन सेन्टरमा राखेर उपचारको व्यवस्था मिलाइदिन स्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज उप महानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेलाई पटकपटक अनुरोध गर्दा पनि सुनुवाई नभएको गुनासो हेस्थ डेक्सका स्वास्थ्यकर्मीको छ ।

हालसम्म जमुनाहा हेल्थ डेक्समा ३३ हजार ४ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । परीक्षण गरेर कोरोना पुष्टि हुँदासमेत सार्वजनिक यातायातमा चढेर घर जान दिइने भए परीक्षण के का लागि भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *