Main News

सर्वोच्चले गर्‍यो प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको समाचारको खण्डन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १८ गते १६:२९
सर्वोच्चले गर्‍यो प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको समाचारको खण्डन (भिडियो रिपोर्टसहित)

१८ असोज २०७८ काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषदमा भाग खोजेको भन्दै आएका समाचारको खण्डन गरेको छ ।

प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषदमा भाग खोजेको र उहाँकै सिफारिसमा दीपक तिमल्सिना र गजेन्द्र हमाल मन्त्री बन्न लागेको भन्ने समाचार सार्वजनिक भएपछि सर्वोच्चले आज विज्ञप्ति निकालेर राणालाई असान्दर्भिक रुपमा जोडेर अतिरन्जित एवं भ्रामक समाचार प्रकाशन भएको दाबी गरेको छ ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालद्वारा जारी विज्ञप्तिमा न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने विषयमा प्रधानन्यायाधीशको स्पष्ट प्रतिबद्धता रहेको स्मरण गराउँदै अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दुषित मनसायले झुटो समाचार प्रकाशन दाबी गरिएको छ ।

संविधान बमोजिम स्वतन्त्र, स्वायत्त एवं संवेदनशीलताका साथ क्रियाशील रहनुपर्ने संस्था र त्यसको नेतृत्वप्रति गलत मनसाय राखी लान्छित गर्नु दुखद भएको सर्वोच्चको विज्ञप्तिमा उल्लेख छ ।

सत्यतथ्य बुझी आधिकारिकता पुष्टि हुने समाचार मात्रै प्रकाशन गर्न समेत सर्वोच्चले सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

मन्त्रिपरिषदमा भाग खोजेको समाचार आएपछि आजै बिहान सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीले प्रधानन्यायधीशसँग भेटेर छलफल गरेका थिए । छलफलमा प्रधानन्यायाधीश जबराले आफूलाई बदनाम गर्न झुटो समाचार आएको बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *