Main News

को हुन् प्रधानन्यायाधीशको कोटामा मन्त्री बन्ने चर्चामा रहेका गजेन्द्र हमाल ?

हिमालय टिभी
२०७८ असोज १८ गते १५:५६
को हुन् प्रधानन्यायाधीशको कोटामा मन्त्री बन्ने चर्चामा रहेका गजेन्द्र हमाल ?

१८ असोज २०७८ नेपालगञ्ज । गजेन्द्र हमाल नेपाली कांग्रेस बाँकेका पूर्व पार्टी सभापति हुन् । २०२७ सालमा नेपाल विद्यार्थी संघ बाँकेको उपाध्यक्ष भएर गजेन्द्रले राजनीति यात्रा शुरु गरेका थिए । २०३१ सालमा नेवि संघ बाँकेको अध्यक्ष भए ।

नेपाली कांग्रेसका नेता स्वर्गीय भाइराजा हमाल परिवारका साँइला भाइ हुन् गजेन्द्र । भाइराजा पञ्चायतकालमा एक दशकभन्दा लामो समय नेपाली कांग्रेस बाँकेको सभापति थिए । नेपालगन्जको घरबारी टोल स्थित हमाल परिवार नै कांग्रेसको राजनीतिमा सक्रिय थियो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत नेपालगन्ज आउजाउ गर्दा गजेन्द्र सधैं उनीहरुका साथमा हुन्थे ।

नेवि संघबाट राजनीति शुरु गरेका गजेन्द्र शुरुदेखि नै शेरबहादुर देउवा निकट नेता हुन् । गजेन्द्र २०५२ सालमा नेपाली कांग्रेस बाँकेको पार्टी सभापति थिए । देउवा निकट भएकै कारण सुशील कोइरालाले गजेन्द्रलाई हटाएर कृष्णमान श्रेष्ठलाई बाँके कांग्रेस सभापति बनाए ।

शेरबहादुर देउवाले कांग्रेस विभाजन गरेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेपछि गजेन्द्र प्रजातान्त्रिक कांग्रेसको ४ वर्ष बाँके सभापति भए । देउवाको जोडबलमा २०६४ सालमा बाँके क्षेत्र नम्बर १ बाट सांसदमा टिकट पाए पनि गजेन्द्रले चुनाव जित्न सकेनन् ।

चुनाव जित्न नसकेपछि गजेन्द्रले ‘नेपाल हिन्दू राष्ट्र हुनुपर्छ’ भन्ने अभियान शुरु गरे । भारतबाट साधु सन्तहरुलाई बोलाएर गाउँगाउँमा धार्मिक जागरण अभियान शुरु गरे ।

६६ वर्षीय गजेन्द्र ३ पटक बाँकेबाट नेपाली कांग्रेसको महासमिति सदस्यमा निर्वाचित भइसकेका छन् । गजेन्द्र अहिले पनि नेपाली कांग्रेसमा पूर्व पार्टी सभापतिका रुपमा सक्रिय छन् । अहिले पनि उनी महाससमिति सदस्यमा चुनाव लड्ने तयारीमा छन् ।

पछिल्ला दिनमा गजेन्द्र नेपालगन्जभन्दा काठमाडौंमा धेरै बस्छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा गजेन्द्रका भिनाजु हुन् । भिनाजु प्रधानन्यायाधीश भएपछि गजेन्द्रको काठमाडौं आउजाउ बाक्लिएको छ ।

तपाई मन्त्री बन्ने हल्ला छ नि भनेर सोधेको प्रश्नको जवाफ दिंँदै गजेन्द्रले भने — मैले पनि संचार माध्याममा त्यस्तै समाचार आएको पढिरहेको छु ।

राजनीति गर्ने मान्छेको मन्त्री हुने सम्भावना जहिले पनि हुन्छ । हेरौं के हुन्छ । तपाई त प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न लाग्नु भएको भन्ने चर्चा छ नि भन्ने प्रश्नको जवाफ दिँदै गजेन्द्रले भने २०२७ सालदेखि राजनीतिमा छु । त्यसमा पनि म शेरबहादुर दाइसँग निकटमा रहेर काम गरेको छु ।

शेरबहादुर दाइको निकट भएकै कारण सुशील कोइरालाबाट पटक पटक पेलिएको मान्छु हुँ । शेरबहादुर दाइले चाहेपछि मन्त्री बन्न कुनै गाह्रो हुन्छ जस्तो लाग्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *