Main News

नेपालका नेता र व्यापारीले विदेशमा राखेको कालो धनको खुलासा, कस्को कति ?

हिमालय टिभी
२०७८ असोज १८ गते ७:४८
नेपालका नेता र व्यापारीले विदेशमा राखेको कालो धनको खुलासा, कस्को कति ?

१८ असोज २०७८ काठमाडौं । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले अफशोर कम्पनी खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा भएको छ ।

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाम मात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद–बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको छ ।

आईसीआईजेसहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासा अनुसार, नेपालका दुई ठूला व्यापारिक घराना – चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिहरू समेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो ।

अमेरिकाको वासिङटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’ लाई उपलब्ध गराएको कागजातमा १६ जना नेपाली संलग्न रहेको देखाइएको छ ।

जस अनुसार प्रतिनिधिसभा सदस्य तथा नेपालका एक मात्र अर्बपति विनोद चौधरी र परिवारका सदस्यको नाममा ट्याक्स हेभन मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको छ ।

ती कम्पनीहरू विनोद चौधरी, उहाँकी श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलको नाममा छन् । यस्तै अफसोर कम्पनी खोलेर कारोबार गर्नेमा नेपालको अर्को ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसन पनि छ ।

गोल्छा अर्गनाइजेशन सम्बद्ध लोकमान्य गोल्छा, उहाँका दिवंगत भइसकेका दुई भाइ, काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमै कम्पनी छ ।

त्यसैगरी खोपके नेपालकै यसअघिको खुलासा नेपालिक्समा उल्लेख भएका नेपाली नागरिकहरू अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनीहरू पनि सञ्चालनमा रहेको तथ्य फेला परेको छ ।

यसबाहेक ललितपुर पुल्चोक ठेगाना भएका राजेन्द्र शाक्य र अन्य नेपाली व्यवसायीहरू– सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, काठमाडौं ज्ञानेश्वरका सुधीर मित्तल, नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सराफको लगानीमा पनि ट्याक्स हेभन मुलुकमा कम्पनी सञ्चालनमा रहेको देखिएको छ । गैरआवासीय नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न पाइन्न ।

गैरआवासीय नेपालीले पनि कर छली गर्न सजिलो मानिने, सम्पत्तिको स्रोत खुलाउन नपर्ने र अवैध आर्जनबाट प्राप्त सम्पत्ति समेत लुकाउन सजिलो ठानिने ट्याक्स हेभन मुलुकमा लगानी गरेको देखिनु अपारदर्शी कारोबार र वैधताका दृष्टिले गम्भीर प्रश्न हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *