राजनीति

जानकारी नदिई छापा मारेको भन्दै जसपा अख्तियारविरुद्ध आन्दोलित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १७ गते २०:४२
जानकारी नदिई छापा मारेको भन्दै जसपा अख्तियारविरुद्ध आन्दोलित (भिडियो रिपोर्टसहित)

१७ असोज २०७८ काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल आन्दोलित भएको छ ।

अख्तियारले छापा मारेकै विषयमा आन्दोलनमै उत्रेर जसपाले आफूलाई प्रचलित नियम कानुन भन्दा माथि भएको देखाउन खोजेको हो कि भन्ने आशंका जन्मिएको छ ।

अख्तियारले छापामार शैलीमा छापा मारेको भन्ने भनाइ कुनै व्यापारी, कर्मचारी या पूर्व प्रशासकको होइन । संविधान कार्यान्वयन गर्नुपर्ने प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको हो ।

बेटी पढाउ, बेटी बचाउँ अभियानअन्तर्गत वितरण भएका साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएपछि मुख्यमन्त्री राउत आक्रोसित बन्नुभएको हो ।

मुख्यमन्त्री राउतको भनाइ छ, बिनाजानकारी मुख्यमन्त्रीको कार्यालयमा अख्तियारले छापा मार्नु गलत छ । यसको अर्थ हो अख्तियारले छापा मार्दैर्छौ भन्ने पहिले नै जानकारी दिएर मुख्यमन्त्री कार्यालयमा छापा मार्नु पर्दथ्यो ? कि उहाँलाई कुनै गडबड भएको भए मिलाउनुस् है भनेर मन्त्रणा गर्नुपर्थ्यो ? नेता बन्नुअघि क्याम्पस पढाउने मुख्यमन्त्री राउतलाई छापा मार्ने भनेकै अचानक र विना जानकारी हो भन्ने पनि होस नहुनु दुखद कुरा हो ।

मुख्यमन्त्री कार्यालयले अनियमितता गरेको हो या होइन अनुसन्धानपछि मात्रै स्पष्ट होला । तर छापा मार्नु अघि नै मुख्यमन्त्री र उहाँको दल जनता समाजवादी पार्टीमा देखिएको औडाहाले शंकालाई थप बल पुगेको छ । अझ छापा मार्ने काम मधेशविरोधी भनेर जसपाले मधेशको बदनाम गरेको छ।

मधेसका जनतालाई भ्रष्टाचार या अनियमितता गरेपनि कारवाही गर्नुहुँदैन भन्न खोजिएको हो ? भ्रष्टाचारको मामिलामा समेत क्षेत्रीयताको रंग दिन खोज्ने जसपाको मति थप भर्त्सनायोग्य छ । अनियमतिता नगरेको भए छानबिनबाट पाउने क्लिन चीटमा विश्वास नगरी विषयलाई अतिरञ्जित गर्नु अनौठो छ ।

मुख्यमन्त्री राउतको अभिव्यक्तिसँगै जनता समाजवादी पार्टीले लोलीमा बोली मिलाएको छ । संविधान मान्दिनँ भन्ने, त्यही संविधानअनुसार चुनिएर मन्त्री खानका लागि पार्टी फुटाउनेसम्म हर्कत गरेको आरोप लागेको जसपाले अख्तियारविरुद्ध आन्दोलन नै घोषणा गरेको छ।

प्रदेश २ मा भ्रष्टाचार छानबिन गर्न भन्दै छुट्टै लोकपाल बनाएको सरकारले त्यो पनि हात्तीको देखाउने दाँत भएको पुष्टि गरेको छ। अनियमितता भएको विषय बाहिर आएको र अख्तियारमा उजुरी नै परेपछि मुख्यमन्त्री कार्यालयमा छापा मारिएको अख्तियारले दाबी गरेको छ ।

बुढीगण्डकीमा ३ नेताले ९ अर्ब बाँडेर खाए भन्नेदेखि शिविर घोटालामा प्रचण्डले २० अर्ब खाए भन्नेसम्म भन्दा छानबिन गर्न गराउन नतात्ने बाबुराम भट्टराईको दल अब के भनेर सडकमा जाने होला ? हुनत भ्रष्टाचार छानबिन नगर भनेर कार्यकर्तालाई सडकमा ओराल्न समेत सकिने उदाहरण जसपाले मसाल जुलुस प्रदर्शन गरेर देखाएकै छ।

अख्तियारको छापा र घटनापछि जसपाको प्रतिक्रिया सुन्दा जो कोहीको प्रश्न हुन्छ–चोरको खुट्टा काटभन्दा कसले उचाल्छ ? अनियमितता भएको छैन भने छापा मार्दैमा तर्सिनुपर्ने, विरोधमै उत्रनुपर्ने अवस्था किन आयो ? तर्कका लागि तर्क जसपाको ।

साइकल खरिदमा अनियमितता भएको विषय बाहिर आएपछि मुख्यमन्त्री राउतमाथि धेरैले आशंका गर्नु अस्वभाविक होइन । अनियमितता नगरेको भए यसरी विवेक नै गुमाउनुपर्ने थिएन । बरु साइकल खरिदमा मुख्यमन्त्री मात्र होइन उहाँको दल पनि त सहभागी छैन ? कतै भागशान्ति जयनेपाल पो गरिएको हो कि ? जनताले आफ्नो रगत र पसिनाको पाइपाइ हिसाब खोजोस् अख्तियारले भन्न किन नपाउने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्