राजनीति

विद्यार्थी संगठनमा टिके प्रथा, संगठनमाथिको विश्वास घट्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १७ गते २०:२९
विद्यार्थी संगठनमा टिके प्रथा, संगठनमाथिको विश्वास घट्दै (भिडियो रिपोर्टसहित)

१७ असोज २०७८ काठमाडौं । राजनीतिक दलका भ्रातृ संगठनहरुले धमाधम नयाँ नेतृत्व चयन गरिरहेका छन् । तर पछिल्लो समय नेतृत्वमा पुगेका विद्यार्थी नेताहरुलाई कार्यकुशलताका आधारमा भन्दा पनि नेताको आशिर्वादबाट नेतृत्वमा पुगेको आरोप लाग्ने गरेको छ ।

पछिल्लो समय विद्यार्थी नेताहरु शैक्षिक मुद्दामा भन्दा पनि माउ पार्टीले खेलेको फोहोरी राजनीतिक खेलका सारथी बन्दै गएका छन् । पार्टी अध्यक्षले आफ्नो महिमा गान गाउन अब्बलमध्ये एकजनालाई टपक्क टिपेर अध्यक्षमा राखिदिँदा विद्यार्थी संगठनको रवाफ र प्रभाव हराउँदै गइरहेको देखिन्छ । तैपनि विद्यार्थी संगठनका मुखियाहरु आन्दोलनलाई नयाँ स्वरुप दिने दाबी गर्न छोड्दैनन् ।

कुनै पनि दलको भ्रातृ संगठनको आफ्नै विधान हुन्छ । सोही विधान र विधिअनुसार नयाँ नेतृत्व अधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने हो । तर पछिल्ला परिदृष्यलाई हेर्ने हो भने पार्टीका अध्यक्षहरु विधानभन्दा माथि बसेर गोजीबाट विद्यार्थी नेता निकाल्ने गरेका छन् ।

विद्यार्थी संगठनहरुको मर्म भनेको शैक्षिक क्षेत्रको सुधारमा केन्द्रित हुनु हो । तर, पछिल्लो समयको विद्यार्थी नेतृत्व नेताको निर्देशनअनुसार चलेको छ र आफ्नो दायित्व के हो हेक्का राखेको छैन । नेताको आशिर्वादबाट आउने नेतृत्व विद्यार्थीका समस्या लिएर विश्वविद्यालय वा प्राज्ञिक केन्द्रमा नभई व्यक्तिगत लाभ खोज्दै नेताको घरमा पुग्ने गरेका छन् ।

विश्वविद्यालयहरूमा राजनीतिक दलहरूले भागबण्डामा पदाधिकारी नियुक्त गर्न थालेसँगै विद्यार्थी राजनीति गैरशैक्षिक गतिविधिमा केन्द्रित हुन थालेको हो । यसरी आउने नेतृत्व प्रजातान्त्रिक मूल्यमान्यता विपरीत भएको पुराना विद्यार्थी नेताहरुको बुझाइ छ ।

शैक्षिक केन्द्रहरुमा हुने बेथितिविरुद्ध बोल्ने, राजनीतिक दलहरुले विद्यार्थीका सवालहरु भुल्न थालेपछि सम्झाउने, झकझक्याउने भूमिका विद्यार्थी नेताहरुको हो । तर अहिले टिका लगाएर नेतृत्वमा पुगेका विद्यार्थीहरु उनै नेताको चाकडी र भजनकिर्तनमा व्यस्त देखिन्छन् ।

अझ पछिल्ला दिनका गतिविधि हेर्ने हो भने कतिपय राजनीतिक दलका विद्यार्थी संगठन सामाजिक सञ्जालको दुरुपयोग गरेर एकअर्को दलप्रति अफवाह फैलाउने तथा प्रोपोगाण्डा गर्ने तहबाट माथि उठ्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्