राजनीति

विगतमा भए गरेका गल्तीहरुलाई अनुमोदन गर्दै यसरी सकियो एमाले विधान महाधिवेशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १७ गते १८:३८
विगतमा भए गरेका गल्तीहरुलाई अनुमोदन गर्दै यसरी सकियो एमाले विधान महाधिवेशन (भिडियो रिपोर्टसहित)

१७ असोज २०७८ ललितपुर । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा देशभरका झण्डै साढे ६ हजार नेता कार्यकर्ताको उपस्थितिमा ३ दिनसम्म चलेको विधान महाधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।

निकै ठूलो तामझामका साथ नेकपा एमालेले प्रथम राष्ट्रिय विधान महाधिवेशन सम्पन्न गरेको छ । नवौँ महाधिवेशनको निर्णयअनुसार एमालेले पार्टीमा नीतिगत र वैचारिक बहसका लागि भन्दै पहिलो पटक विधान महाधिवेशन गर्दा यसलाई शक्ति प्रदर्शनका रुपमा प्रस्तुत गरेको छ ।

सामान्यतया नवौँ महाधिवेशनको कार्यदिशाअनुसार प्रदेश, जिल्ला तथा निर्वाचन क्षेत्रबाट सन्तुलितरुपमा देशभरबाट झण्डै एक हजार हाराहारीमा प्रतिनिधि सहभागी भएर विधान महाधिवेशन गर्नुपर्ने हो।

तर अध्यक्ष केपी शर्मा ओलीको शक्ति प्रदर्शनको सोखले दल विभाजन भएर एकीकृत समाजवादी बनेका बेला देशभरका साढे ६ हजार बढी कार्यकर्ताले गोदावरीको काखमा प्राकृतिक सुन्दरतासँग विचरण गर्ने अवसर प्राप्त गरे ।

विधान महाधिवेशनमा पार्टीले अपनाउने विचार, मार्गदर्शक सिद्धान्त तथा आगामी कार्यदिशाका बारेमा छलफल हुनुपर्ने थियो । यसका साथै पार्टी जीवनमा गएको महाधिवेशनदेखि हालसम्म नेतृत्वको कार्यशैली, पार्टीले हासिल गरेका उपलब्धि, सरकारको नेतृत्व गरिरहँदा पार्टीप्रति जनताले दिएको प्रतिक्रियाबारे समीक्षा गरिनुपर्थ्यो ।

गएको चुनावमा पार्टीलाई बहुमत हासिल गराएर सरकारमा पु-याएका नेता–कार्यकर्ताले राष्ट्रिय विधान महाधिवशेनमा आउँदा पार्टीलाई प्रतिपक्षीको बेञ्चमा भेटेका छन् । अध्यक्ष ओलीले दुईदुई पटक संसदको हत्या प्रयास गरेको आरोप खेपेको देखेका छन् ।

अनि पार्टीको एउटा ठूलो हिस्सा अध्यक्षसँग असन्तुष्ट बन्दै विभाजनमा पुगेपछि विधान महाधिवेशनको मञ्चमा पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेका दुईदुईजना पूर्वप्रधानमन्त्री र कतिपय संस्थापक नेताको अभाव देखेका छन् ।

अध्यक्ष ओलीकै नाममा पानीको बोत्तल, कार्यक्रमस्थलमा ओलीकै आलिसान र छपक्क तस्वीर अनि त्यसैमुनी सेल्फी पनि बन्यो एमालेको विधान महाधिवेशन ।

आफ्नै पार्टी जीवनका सजिला अप्ठ्याराबारे समीक्षा गर्न बसेको ठाउँमा ओलीको जयजयकार मात्र देखेर असली कार्यकर्ताले एमाले पार्टीलाई केपी ओली एण्ड कम्पनीका रुपमा ब्राण्डिङ गर्न खोजिएको महशुस गरे होलान् ।

प्रत्येक समूहमा हजार हाराहारी सदस्य राखेर गरिएका समूहगत छलफलमा धेरै कार्यकर्ताले आफ्नो कुरा राख्न पाएनन् । कुरा राख्न पाएकाले भने पार्टीलाई व्यक्तिमूखी होइन संगठनमूखी बनाउनुपर्छ भनेका छन् ।

जनताको पार्टी भनिने कम्युनिष्ट पार्टीले गरेको विशाल सभाको तामझाम देखेर आफ्नै कार्यकर्ता झस्किएका छन् । कतिपयले भड्किलो खर्च देखेर आत्तिएर होला चुनाव कम खर्चिलो बनाउनुपर्छ भनेका छन् ।

निकट विगतमा नेतृत्वले गरेका शिलशिलाबद्ध त्रुटिलाई कसरी सच्याएर अघि जाने भन्दा पनि तिनै त्रुटिहरुको अनुमोदनबाहेक विधान महाधिवेशनले कुन उपलब्धी हाँसिल गर्‍यो त्यो थाहा पाउन भने आगामी दशौँ महाधिवेशन र आम चुनाव नै कुर्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्