Main News

सदस्यता विवाद र अधिवेशनमा भएको धाँधलीलाई लिएर देउवाविरुद्ध पौडेल समूहको मोर्चाबन्दी

हिमालय टिभी
२०७८ असोज १७ गते ७:५९
सदस्यता विवाद र अधिवेशनमा भएको धाँधलीलाई लिएर देउवाविरुद्ध पौडेल समूहको मोर्चाबन्दी

१७ असोज २०७८ काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता विवाद र अधिवेशनमा धाँधलीलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी बढाएको छ।

यही मोर्चाबन्दीका क्रममा वरिष्ठ नेता पौडेल समूहका केही नेताहरु सभापति एवम् प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरा जाने भएका छन्।

पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको अनियमितताविरुद्ध अनशनरत डडेल्धुरा कांग्रेसका नेता कार्यकर्तालाई साथ दिन डा शेखर कोइरालासहितका नेताहरु डडेल्धुरा जान लागेका हुन्।

कोइरालाको नेतृत्वमा नेताहरु अर्जुननरसिंह केसी, गुरुराज घिमिरे, नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष केशव सिंह र राजनीतिक विश्लेषक पुरञ्जन आचार्य डडेल्धुरा जान लाग्नु भएको हो ।

उहाँहरु आज काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुग्ने कार्यक्रम छ । त्यहाँबाट सडकमार्गबाट डडेल्धुरा जानुहुनेछ । देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला कार्यसमितिको असहमतिकाबीच गाउँपालिका र नगरपालिका वडा अधिवेशन गरिएको थियो।

वरिष्ठ नेता पौडेलले डडेल्धुरामा जिल्ला कार्यसमितिको सहमति र सहभागिताबिना वडा अधिवेशन गरिएको भन्दै धाँधली भएको आरोप लगाइरहनु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले प्रशासनिक शक्तिको दुरुपयोग गरेर अधिवेशन गराएको पौडेल समूहको आरोप छ ।

कांग्रेस डडेल्धुराले पनि यसअघि नै एकलौटी रुपमा गरिएको वडा अधिवेशन स्वीकार नगर्ने बताइसकेको छ। त्यही विषयलाई लिएर जिल्ला पार्टी कार्यालमा ११ दिनदेखि कांग्रेस कार्यकर्ता अनशनमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *