एमाले विधान महाधिवेशन : के भन्छन् भारतबाट आएका प्रतिनिधि ? (भिडियो रिपोर्टसहित)
१६ असोज २०७८ ललितपुर । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनको रौनक दोस्रो दिन पनि उस्तै छ । देश तथा प्रवासबाट आएका ६ हजारभन्दा बढी नेता कार्यकर्ताको चहलपहलले गोदावरीको माहोल रंगीन बनिरहेको छ। यो महाधिवेशनमा भाग लिन भारतबाट ८० भन्दा बढी नेपाली आएका छन् ।
यो समूह हो प्रवासी नेपाली संघ भारतबाट आएका एमाले प्रतिनिधिहरुको । उनीहरु लामो समयदेखि भारतमा बस्छन् । भारतमा बसे पनि नेपालको राजनीतिमा सक्रिय छन् । एमालेको विधान महाधिवेशनमा प्रतिनिधिको रुपमा भारतबाट ८० जनाभन्दा बढी नेपाली प्रवासी संघको तर्फबाट सहभागी भएका छन् । विधान महाधिवेशनमा उनीहरुले भारतमा रहेका एमालेको एउटा छुट्टै कमिटी हुनुपर्ने माग राखेका छन् ।
भारतमा बसेर एमालेको राजनीति गर्ने अधिकांशको उतै घरजम छ । उताकै रासन–पानी, उताकै आधार कार्ड छ र पनि नेपाली राजनीतिमा चाख छ । भारतमा पनि नेपालकै जस्तो राजनीति लाग्छ । त्यही भोगाइले होला नेपाल आउँदा माइत आएजस्तो अनुभव समेत हुने गरेको छ ।
कामको खोजीमा ठूलो संख्यामा नेपालीहरु जाने गरेकाले त्यहाँ नेपालीको संख्या पनि बाक्लो छ । त्यसैले कतिपयले त नेपालका पार्टीहरुको भ्रातृ संगठनका रुपमा त्यहाँ पनि राम्रैसँग राजनीति गरिरहेका छन् ।
तर भारतमा बसेर गर्ने राजनीति भने त्यहाँ पुग्ने नेपालीलाई सहयोग गर्ने उद्देश्यमा केन्द्रित हुने गरेको दाबी गरिन्छ ।
विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावहरुमा प्रवासी नेपालीको मागलाई समेत सम्बोधन गर्नुमा प्रवासी नेपालीको माग छ ।
प्रतिक्रिया