राजनीति

एमालेसँग प्रतिवाद गरेर अघि बढ्न कार्यकर्तालाई प्रचण्डले दिए निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १६ गते १५:५७
एमालेसँग प्रतिवाद गरेर अघि बढ्न कार्यकर्तालाई प्रचण्डले दिए निर्देशन (भिडियो रिपोर्टसहित)

१६ असोज २०७८ काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

अध्यक्ष प्रचण्डले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरुको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत सुनाउनुभयो । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले आज ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले अबको डेढ वर्ष एमाले गणतन्त्रविरोधी, संघीयता विरोधी रहेको भन्दै जनतामा जान पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

त्यो भयो भने एमालेजस्तो जाली, फटाहा भएको पार्टी थरर्र काँम्ने र जनताले आफ्नो पार्टीलाई निर्वाचन जिताउने अध्यक्ष प्रचण्डको दावी छ । अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरियो भने आफ्नो पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिनु भयो ।

उहाँले भन्नु यो, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन । यी जाली फटाहाहरुले अहिले हामीलाई हेप्न खोजेका छन् नि । तिनको सातो खाने । पहिलो आयो है माओवादी भनेपछि जाली फटाहा थरर्र हुन्थे । छाती खोलेर भन्नु ओलीले ल्याएको हो गणतन्त्र ? हामीले बनाएको हो संविधान । यिनीहरु विरोधी हुन भन्दै हिँडनुहोस् । पार्टी कमिटी बनाउनुस्, जनतामा जानुस् । को बेइमान हो बुझाउनुस् । डेढ वर्ष आँखा चिम्लेर मेहनत गरांै । यो देश हामीले बचाउनुपर्छ, गणतन्त्र हामीले बचाउनु पर्छ । देशको रक्षा गर्नु पर्छ ।’

अध्यक्ष प्रचण्डले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढनुपर्ने तर्क समेत गर्नु भयो । उहाँले केपी ओली एक्लै केही नभएको पनि बताउनु भयो ।

अध्यक्ष प्रचण्डले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेडक्वार्टरमै बमबारी गर्नु परेको दोहो-याउनु भयो । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताउनु भयो ।

उहाँले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रिया समेत दिनु भयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘आज म खुसी छु । अब म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, जनतालाई माया गर्ने मान्छे । राष्ट्रको हित गर्ने सबै मान्छेहरुसँग सहकार्य भएको छ । शेरबहादुर जीले मलाई पार्टी एकता भइसकेको थिएन चुनाव भइसकेको थियो । मलाई भन्नु भयो, पाँच वर्ष नै तपाई प्रधानमन्त्री हुनुस् । हामी फ्लोवरमा बसेर समर्थन गर्छौं तपाईँलाई । तर जनतको बीचमा जान छोडेर प्रधानमन्त्री खान खोजेँ भने त म पनि प्रतिक्रियावादी जस्तै अवसरवादी हुने भएँ, मैले पाँचै वर्ष प्रधानमन्त्री दिँदा खाइनँ । तर डेढ वर्षका लागि प्रधानमन्त्री खाइदिनुस् भनेर शेरबहादुर जीलाई धेरै पटक भनियो । उहाँलाई धेरै दुःख गरेर प्रधानमन्त्री हुन तयार पारियो ।’

अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गर्नु सही भएको पटकपटक दोहो-याउनु भयो । तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरुले पार्टीभित्रैबाट विद्रोह गर्नु परेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्