राजनीति

नेपालमा नेताका पछि लाग्नेलाई यस्ता फाइदैफाइदा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १५ गते २०:४०
नेपालमा नेताका पछि लाग्नेलाई यस्ता फाइदैफाइदा (भिडियो रिपोर्टसहित)

१५ असोज २०७८ काठमाडौं । नेपालमा पहुँच हुने र आर्शिवाद प्राप्त गर्ने व्यक्तिलाई जता पनि अवसरै अवसर मिल्ने गरेका धेरै उदाहरण छन् । कसैले जीवनभर अवसर नै नपाउने तर कुनै व्यक्तिले सामाजिक क्षेत्रमा मात्रै नभएर सरकारी सेवादेखि राजनीतिमा पनि मौका पाउँदै आएकोमा आलोचना पनि हुने गरेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रारम्भिक चरणको मूल्यांकन गर्दा एउटै व्यक्तिले पत्रकारिता, अध्यापनदेखि राजनीति गर्न भ्याइरहेको देखिएको छ ।

यतिबेला मुलुकका ठूला दलहरु महाधिवेशनको संघारमा छन् । सत्तारुढ दल नेपाली कांग्रेसले अधिकांश जिल्लामा वडा अधिवेशन सकेर पालिकास्तरको अधिवेशनको पनि अन्तिम चरणमा छ । अर्को सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पुसमा महाधिवेशन गर्ने तयारी गरेर सदस्यता नवीकरण प्रक्रिया अघि बढाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले दशौँ महाधिवेशनका लागि विधान महाधिवेशनको संघारमा छ । यी ठूला राजनीतिक दल आन्तरिक नेतृत्व छनोटमा जुटेका बेला थुप्रै अवसरवादी अनुहारहरु सतहमा देखिएका छन् । संवेदनशील पेशा र व्यवसायमा भएकाहरु पनि अहिले पैसा र पहुँचका आधारमा राजनीतिक दलको आन्तरिक नेतृत्वमा पुग्ने कसरतमा देखिएका छन् ।

शिक्षक, कर्मचारी, पत्रकार वा अन्य सामाजिक क्षेत्रमा रहेका व्यक्तिहरु अर्को पेशासहित राजनीतिमा देखिनुलाई स्वभाविक मानिँदैन । तर कांग्रेसको जारी महाधिवेशनका विभिन्न तहमा यस्ता धेरै व्यक्ति नेतृत्वमा आएको, आउन चाहेको र प्रचारमा जुटेको देखिएको छ ।

कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्न चाहनेहरुमा स्वतन्त्र विश्लेषक भन्न रुचाउने व्यक्तिदेखि शिक्षक, सरकारी कर्मचारी, व्यापारी, ठेकेदार, सामाजिक अभियन्तासम्म छन् । विभिन्न व्यवसायिक जिम्मेवारीमा रहेर काम गरिरहेका उनीहरुलाई त्यतिले नपुगेर कांग्रेस पार्टीमा थप अवसर चाहिएको छ ।

अझै यसरी पार्टी राजनीति गर्न चाहनेहरु संघीय राजधानी काठमाडौंमा बस्ने र महाधिवेशन प्रतिनिधि बन्नकै लागि हप्तादिनका लागि गृहजिल्ला भ्रमणमा जानेहरुको बाहुल्यता छ । विडम्बना कसैले हरेक क्षेत्रमा अवसरै अवसर पाइराख्दा इमान्दारितापूर्वक पार्टी र कार्यकर्ताको हकहितका लागि लड्नेले भने जीवनभर अवसरबाट बञ्चित हुनुपर्ने अवस्था छ ।

अभियान्ता, विश्लेषक वा पत्रकारका नाममा दलको झोला बोक्ने रोग कांग्रेसमा मात्र होइन । केपी ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा मुड्की बटारेर सपथ खानेहरु पनि आफूलाई स्वतन्त्र पत्रकारभन्दा लाज मान्दैनन् । सामाजिक सन्जालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको व्यक्तिगत गुणगान र भजन गाउनेले पनि स्वतन्त्र पत्रकार नै दाबी गर्दछन् । यसरी दलको झोला बोक्ने व्यक्तिहरुले फेरि आफूलाई स्वतन्त्र व्यक्तिका रुपमा कसरी देखाउँलान् र कसरी काम गर्न सक्लान् रु

नेपालको दुर्दशा नै भन्नुपर्छ, जे काम र व्यावसायमा लागेको छ, त्यो काम नगर्ने अन्य काममा टाङ अड्याउने । डाक्टर, पत्रकार र वकिलको पनि पार्टीगत भातृ संगठन खोल्ने मुलुकका नाममा बदनाम छ नेपाल । सरकारी कोषबाट तलब खाने शिक्षक र कर्मचारी समेत दलको कार्यकर्ता भएपछि राजनीतिको खेति त मौलाउला, जनताको जीवन त खोचे दाउमा पर्ने ने भयो । अरुतिर स्वाभिक मान्न पनि सकिएला बरु, तर स्वतन्त्र र निष्पक्ष खबर दिने संचारकर्मी चाँही कम्तिमा पनि पार्टी कमिटीको उम्मेदवार भएपछि पत्रकारिताको कोट फुकालून् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्