Main News

जिम्मेवारी प्रतिपक्षीको भूमिकाबाट यसरी चुक्दै सबैभन्दा ठुलो दल एमाले (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १४ गते २०:५९
जिम्मेवारी प्रतिपक्षीको भूमिकाबाट यसरी चुक्दै सबैभन्दा ठुलो दल एमाले (भिडियो रिपोर्टसहित)

१४ असोज २०७८ काठमाडौं । नेकपा एमाले सबैभन्दा ठूलो दल भएर पनि अहिले सत्ता बाहिर छ । मुलुकको ठूलो दलको नाताले एमालेबाट जिम्मेवार भूमिकाको अपेक्षा हुनु अस्वभाविक होइन । तर एमाले आफ्नो भूमिकामा चुक्दै आएको अभाष हुन थालेको छ ।

सरकारबाट हटेदेखि नै नेकपा एमालेले संसदमा लगातार अवरोध गर्दै आएको छ । संसद बैठकमा नाराबाजी गर्दै आएका एमाले सांसदले कयौं पटक अमर्यादित व्यवहारसमेत देखाएपछि संसदीय दलका नेतासमेत रहेका
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मर्यादित हुन निर्देशन नै दिनु परेको थियो । त्यसयता संसद बैठकमा एमालेका सांसदहरु संयमित त भएका छन् तर विरोध जारी राखेका छन्।

संसद बैठक सुचारु गर्न भन्दै सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक आह्वान गर्नु भयो । सभामुखले बोलाएको बैठकमा एमाले सहभागी भएन। सभामुखविरुद्ध आन्दोलित एमालेले उक्त बैठकमा सहभागी नहुनुलाई स्वभाविक रुपमा लिन सकिन्थ्यो तर बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिस्कार गरेको छ । संसदीय व्यवस्थामा सत्तारुढ दल जतिकै जिम्मेवार ठानिने प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकसमेत बहिस्कार गर्नुलाई भने कदापि स्वभाविक मान्न सकिन्न ।

जनताले पाँच वर्षका लागि निर्वाचित गरेर सरकारमा पठाए पनि आफ्नै दलको अन्तरविरोधले एमाले प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको छ । त्यसको पीडा एमालेलाई अवश्य होला तर विभाजनपछि पनि एमाले देशकै सबैभन्दा ठूलो र महत्वपूर्ण शक्ति हो । ठूलो दलको हैसियतले एमालेबाट आम नागरिकले जिम्मेवार भूमिकाको अपेक्षा गरेका छन् । जुन अन्यथा होइन । तर यो भूमिकामा एमाले चुक्दै गएको आभाष नागरिकले गर्न थालेका छन् ।

सरकारको काममा असन्तुष्टि, सभामुखको भूमिकामा प्रश्न, कानूनहरु निर्माणमा फरक मत जस्ता कुराहरु प्रतिपक्षी दलमा हुनु स्वभाविक हो । तर यी सबै गुनासोको हल हुने एक मात्रै उपाय भनेको वार्ता र संवाद नै हो ।

अफगानिस्तानमा अमेरिका र आफ्नै सरकारविरुद्ध युद्ध गरिहेको तालिबानले समेत तत्कालीन समयमा वार्ताका लागि कतारमा कार्यालय नै स्थापना गरेको थियो । तत्कालीन माओवादीले ११ वर्ष गृह युद्ध गर्दा पनि अन्तिममा वार्ताकै माध्यमबाट समाधान खोज्नु परेको थियो ।

स्वयंम एमालेले पनि विगतमा ५७ दिनसम्म संसद अवरुद्ध गर्दा अन्तिममा वार्ता र संवादबाटै समस्याको समाधान निकाल्नु परेको थियो । मुलुक अस्तव्यस्त नहोइन्जेल र सरकार सर्वथा असफल नहोइन्जेल आन्दोलन गर्ने र त्यसपछि मात्र संवादमा जाने रणनीति एमालेले अख्तियार गर्न खोजेको हो भने यसको नतिजा एमालेका लागिसमेत भारी पर्न सक्छ । नेतृत्वदायी जनमत प्राप्त गरेको दल एमाले संक्रमणकालीन समयमा विरोधका लागि विरोधमै रमाउने हो भने यसको मुल्यांकन पनि जनताले अवश्य गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *