राजनीति

आफ्नै प्रतिबद्धताविपरीत फेरि कार्यकारी पदमा दोहोरिने ओलीको आकांक्षा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १३ गते २०:५९
आफ्नै प्रतिबद्धताविपरीत फेरि कार्यकारी पदमा दोहोरिने ओलीको आकांक्षा (भिडियो रिपोर्टसहित)

१३ असोज २०७८ काठमाडौं । नेकपा एमालेमा दुई कार्यकाल दोहोर्‍याउन नपाइने र ७० वर्षे उमेर हदबन्दीको चर्चा चल्दै आएको छ । स्वयम् अध्यक्ष केपी शर्मा ओलीले पनि यसअघि आफू अब पार्टी अध्यक्ष र प्रधानमन्त्री पदमा नहोदोरिने प्रतिबद्धता जनाउनु भएको थियो । तर अहिले विधानमै दुई कार्यकाल र ७० वर्षे उमेर हदको व्यवस्था राख्ने चर्चा चलिरहँदा ओलीमा पुनड्ड कार्यकारी पदमा दोहोरिने आकांक्षा बढ्दै गएको देखिएको छ ।

कुनै पनि कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने विषयमा विभिन्न दलमा बहस हुँदै आएको छ । पटकपटक परीक्षण भएको व्यक्ति नदोहोरिउन् र नयाँ व्यक्तिले अवसर प्राप्त गर्न सकून् भनेर यो बहस चल्दै आएको हो । खासगरी नेपाली कांग्रेस, नेकपा एमाले जस्ता ठूला दलमा यो बहस बढी केन्द्रित छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै आफू पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पदमा नहोहोरिने घोषणा गर्नु भएको थियो । तर हालै सम्पादकहरुसँगको साक्षात्कारमा ओलीले आगामी महाधिवेशनबाट पुनः पार्टी अध्यक्षमा दोहोरिने संकेत गर्नु भयो ।

यसको अर्थ ओलीका लागि पार्टी अध्यक्ष र प्रधानमन्त्रीभन्दा माथि जाने ठाउँ छैन । त्यसैले उहाँ फेरि पार्टी अध्यक्ष भएर काम गर्न चाहनुहुन्छ । ओलीले एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपामा रहँदा नै पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रुपमा आफ्नो अन्तिम कार्यकाल भएको घोषणा गर्नु भएको थियो ।

सायद त्यतिबेला अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्नुपर्ने दबाब बढिरहेकाले उहाँले यसो बताउनु भएको होला । पार्टी विभाजनपछि माधवकुमार नेपालले छाडेपछि एमाले पार्टीको नेतृत्व लिन दोस्रो पुस्ता तयार नभएको अवस्थामा अध्यक्ष पदमा दोहोरिन खोजेको ओलीको संकेत रहेको विश्लेषक बताउँछन् ।

नेपालका नेताहरु आफ्नो बोलीमा र प्रतिबद्धतामा अडिग रहँदैनन् भन्ने आरोप पनि लाग्दै आएको छ । आज एउटा कुरा भोलि अर्को कुरा गर्ने, हिजो ठिक आज बेठिक भन्ने नेताहरुको चरित्र नै भएको कतिपयले बताउने गरेका छन् । त्यसैले होला ओलीले हिजो के बोल्नु भयो र आज के बोल्दै हुनुहुन्छ भन्ने कुराले पनि खासै अर्थ नराख्ने विश्लेषकको तर्क छ ।

एमाले अध्यक्ष ओलीमा पद र शक्तिको आशक्ति कति छ भन्ने कुरा दुई(दुई पटक संसद विघटन गरेरै पुष्टि गरिदिनु भएको छ । ओलीको सत्ता बहिर्गमनका लागि सर्वोच्च अदालतले नै परमादेश जारी हुनु पर्यो । शक्तिमा लिप्त नभएको भए संसदमा विश्वास गुमाइसक्दा प्रधानमन्त्रीको पदबाट उहाँले राजीनामा दिनु हुथ्यो, यो कुरा छर्लङ्ग छ । एक पटक सत्तामा पुगेपछि कुनै पनि हालतमा छोड्न नचाहने प्रवृत्ति ओलीसहित धेरै नेतामा देखिन्छ ।झिँगालाई चास्नी र हाम्रो देशका नेतालाई सत्ता उत्तिकै प्यारो बनेको छ ।

एमाले अध्यक्ष ओली पार्टी मात्रै हाँक्नु भएका नेता हुनुहुन्न, उहाँले दुई(दुई पटक देश हाँकिसक्नु भएको छ । त्यसैले उहाँले बोल्ने हरेक कुराको गहिरो अर्थ हुन्छ । यसर्थ आफ्नो बोली र व्यवहारमा एक रुपता कामय गर्न सके मात्रै ओली र उहाँजस्तै नेताको विश्वसनीयता बढ्ने हो ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्