Main News

प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १३ गते १७:४५
प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा (भिडियो रिपोर्टसहित)

१३ असोज २०७८ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छापा मारेको छ ।

साइकल खरिद प्रक्रियामा अनियमितता भएको र साइकल पनि गुणस्तर नभएको उजुरी परेपछि आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो जनकपुरस्थित प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छापा मारेको हो ।

टोलीले सोसम्बन्धी कागजातसहितको प्रमाण मुख्यमन्त्री कार्यालयबाट लिएर छानबिनको कामलाई पनि शुरु गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनु भयो ।

उहाँले साइकल खरिद र त्यसको गुणस्तरका सम्बन्धमा परेको उजुरीलाई आधार मानेर मुख्यमन्त्री कार्यालयबाट सम्बन्धित कागजातसहितको प्रमाण लिएर छानबिनको काम शुरु गरिएको पनि स्पष्ट पार्नु भयो ।

प्रवक्ता रिसालले भन्नुभयो, ‘आज प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको विषयमा चाहिँ त्यहाँबाट साइकल खरिदसम्बन्धी विषयमा प्राप्त उजुरी सूचनाको आधारमा त्यहाँ साइकल खरिदको सम्बन्धमा अनियमितता भएको, गुणस्तरीय साइकल खरिद नभएकोलगायतका विषयमा छानबिन गर्ने भनेर आयोगको निर्देशन अनुसार आयोगको कार्यालय बर्दिबासबाट छानबिनका लागि टोली गएको अवस्था थियो । र उहाँहरुले सोसँग सम्बन्धित कागजातसहितको प्रमाणहरु लिएर आउनु भएको छ । छानबिन प्रक्रिया अघि बढेको अवस्था छ ।’

आयोगले प्रदेश २ सरकारले छोरीहरुलाई विद्यालय पढाउने कार्यलाई प्रेरित गर्न ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम संचालन गरेको छ । सो कार्यक्रम अन्तर्गत बालिकाहरुलाई साइकल वितरण गरिन्छ ।

उक्त साइकल खरिद र वितरणमा अनियमितता भएको उजुरी आयोगमा परेको हो । सो उजुरी परेपछि स्थलगत निरीक्षण गरी आवश्यक कागजातसहितको प्रमाण लिएर अनुसन्धानको कामलाई पनि अघि बढाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *