राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज
११ असोज २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको छ ।
सरकारको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश खारेज गर्ने र त्यसको ठाउँमा पूर्ववत कानून क्रियाशील गराउने निर्णय गरेको थियो । अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको थियो ।
२० प्रतिशतले दल फुटाउने अध्यादेश कायमै रहँदा मन्त्री बन्न नपाउनेहरुले पार्टी फुटाउने डरका कारण सरकारले अध्यादेश फिर्ता लिएको हो ।
यस्तै मन्त्रिपरिषदको बैठकले विभिन्न तीन वटा विधेयक संसदमा पेश गर्ने भएको छ । बैठकले सार्वजनिक व्यक्तिको शपथ, तेजाब र प्रहरीसम्बन्धी विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बैठकले समाज कल्याण परिषद्का उपाध्यक्ष लगायत पदाधिकारी र सदस्यले दिएको राजीनामा स्वीकृति गरेको छ ।
यस्तै गुल्मीका विष्णु सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया