Main News

कां‍ग्रेसमा विरासतकाे आडमा सभापति जित्ने आकांक्षा, होला त पूरा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ११ गते २०:५०
कां‍ग्रेसमा विरासतकाे आडमा सभापति जित्ने आकांक्षा, होला त पूरा ? (भिडियो रिपोर्टसहित)

११ असोज २०७८ काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधि लगायतका नेताहरुको उल्लेखनीय योगदान छ । प्रजातन्त्रका लागि लडेका नेताहरुलाई सम्मान गर्नेहरुको संख्या अहिले पनि उल्लेखनीय छ ।

नेपाली कांग्रेसमा तीन युवराजको रुपमा चिनिने विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंह पितापुर्खाले आर्जेको यही सम्मान र विश्वासको विरासतमा नेपाली कांग्रेसको सभापतिमा विजयी हुने सपना देख्न थाल्नुभएको छ।

नेपाली कांग्रेसमा तीन युवराजको रुपमा चिनिने उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले महाधिवेशनको रन्को लागेपछि पाँचपटक भेटघाट गरिसकेका छन् । विरासतको राजनीतिक धरातलमा माथि पुर्‍याइएका ठानिएका तिनै जनाको डिनर र लन्च मिटिङको चटनी चाहीँ आगामी महाधिवेशनमा आफ्ना पक्षमा समर्थन जुटाउनु नै हो ।

विपीपुत्र डाक्टर शसांकबाहेक सिंह र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका बेला उहाँहरुले खाने लन्चले अरु सभापतिका आकांक्षीको पेट दुख्नु स्वभाविकै हो । आफूहरुको भेट एक मात्र सभापतिको उम्मेदवार तय गर्ने उद्देश्यका लागि भन्ने तीनैजनाले सभापतिको साझा उम्मेदवारचाहिँ ऐना अगाडि उभिएको आफैलाई भन्न छाडेका छैनन् ।

पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको किचनबाट वाक्क भएर आफ्नै आगो फुक्न लागेका निधि र रामचन्द्र पौडेल क्याम्पमा सम्भावना नदेखेका सिंहले कम्तिमा पनि विपीपुत्रलाई पनि मनाएर राजसी भोज त खाएका छन् तर यसले कांग्रेसको राजनीतिमा भने तात्विक भिन्नता पार्ने देखिँदैन । डिनर र डिनरसँगैको रसपान गर्न नछाड्ने निधिले यसअघि ने बाबाहरुलाई साक्षी राखेर सम्पर्क कार्यालय नै खोलिसक्नुभएको छ भने नेता प्रकाशमान सिंहले पनि पहिलो पदमा पुग्ने अपेक्षाको मुख खोल्नुभएको छ।

स्वभावैले कम बोल्ने महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको चौधौ महाधिवेशनमा देउवालाई हराउन सक्ने एकमात्र पात्र आफूलाई सम्झनुभएको छ । आफ्नै परिवारका तीन युवराज युवराज्ञी मिलाउने धामा छ कोइरालालाई । दाजु शेखरको देश दौडाहा र दिदी सुजाताको गनगनलाई व्यवस्थापन गर्नको हम्मेले पनि महामन्त्री कोइरालाको बोली बसेको छ। तथापि, कोइराला पनि पौडेल समूहबाट एकमात्र सभापतिको उम्मेदवार बन्ने दाउमा हुनुहुन्छ । तीनै जना नेतामा एउटा समानता छ, त्यो भनेको उहाँहरु सभापति बन्न चाहनुहुन्छ बस । किन र केका लागि जवाफ छैन ? सभापतिमा निर्वाचित भएपछि कांग्रेसलाई कहाँ पुर्‍याउने, देशलाई कुन दिशामा अघि बढाउने भन्ने योजनाविना दावेदारी मात्रै प्रस्तुत गर्नुको कुनै अर्थ नहुने विश्लेषकहरु बताउँछन् ।

लामो समयसम्म व्यावसायीकरुपमा चिकित्सक रहेका र अवकास प्राप्त जीवन बिताउन राजनीतिमा आएका डाक्टर कोइरालाको राजनीतिक योग्यता विपीको छोरा हुनुभन्दा अरु उल्लेख्य केही छैन । कार्यकर्तासँग खासै सम्बाद नगर्ने, सार्वजनिक कार्यक्रममा जान अल्छी मान्ने र संसदमा कुनामा लुकेर सुत्ने छवि बनाएका कोइरालालाई कांग्रेस कार्यकर्ताले भोटै हालेर महामन्त्री बनाएका हुन् ।

उता लौह पुरुष गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले संसदीय चुनावमा हमेसा बाबुको विरासतको फाइदा उठाउनुभएको छ। पार्टीको बाह्रौ महाधिवेशनमा विमलेन्द्र निधिलाई हराएरै महामन्त्री बन्नुभएका सिंहले प्राप्त गरेको उपसभापति पद टिकाटालो गर्दाको दक्षिणा मात्र हो । कांग्रेसमा महेन्द्र नारायण निधिका छोरा विमलेन्द्र निधिको छवि पनि नेपाल विद्यार्थी संघको पूर्व सभापति बाहेक देउवाको किचनमा तर मार्नेभन्दा माथि छैन । सभापति देउवाले १३ औं महाधिवेशनमा गरिदिएको उधारो सभापतिको तमसुक लिएर बुढानीलकण्ठ पुगेका निधिले आसामीले ऋण नतिर्ने छाँट देखाएपछि मात्र सभापतिको रहर गर्नुभएको हो।

विरासतको राजनीतिले तीनै जनालाई केही फाइदा त अवश्य होला तर त्यतिले मात्रै कांग्रेसको नेतृत्वमा पुग्न पर्याप्त नहुने विश्लेषकको मत छ । नेपाली कांग्रेसमा तल्लो तहबाट आएका प्रतिनिधिहरुको विश्लेषण गर्दा यसपटक विपी, गणेशमान र महेन्द्र नारायण निधि नै नचिन्ने युवाहरुको बाहुल्यता हुने निश्चित छ । युवाहरुको बाहुल्यताले विरासतको राजनीतिक गर्ने चाहना राखेका तीन युवराजका लागि प्रतिकुल बन्न सक्ने विश्लेषण भैरहेको छ ।

समग्रमा तीनैजना जोड्दा पनि नपुग्ने भ्यागुताको धार्नीका लागि डिनर र लन्चले ठाउँ हेर्ने मुख फेर्ने त होला, कांग्रेसजनका लागि भने कौवालाई बेल पाक्यो हर्ष न विस्मातभन्दा बढी हुने देखिन्न ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *