Main News

प्रतिनिधि सभाको बैठक आज बस्दै, संसद अधिवेशन अन्त्यको सम्भावना

हिमालय टिभी
२०७८ असोज ११ गते ९:०५
प्रतिनिधि सभाको बैठक आज बस्दै, संसद अधिवेशन अन्त्यको सम्भावना

११ असोज २०७८ काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकका लागि सम्भावित कार्यसूचीमा विनियोजन विधेयक प्रमाणिकरणका बारेमा राष्ट्रपति कार्यालयबाट आएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने उल्लेख गरिएको छ ।

तर बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकबाट राष्ट्र ऋण उठाउने विधेयक २०७८ र आर्थिक विधेयक २०७८ पारित भएर आएपछि भने कार्यसूचीमा पर्न सक्ने संसद सचिवालय स्रोतले बताएको छ ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधलाई निरन्तरता दिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । आजको प्रतिनिधि सभा बैठकबाट बजेटसँग सम्बन्धित विधेयक पारितको काम सकिनेछ ।

यसोहुँदा सरकारले संसद अधिवेशन अन्त्य गर्ने सम्भावना छ । तर सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले भने अधिवेशन अन्त्यको बारेमा सरकारले हालसम्म कुनै परामर्श नगरेको जानकारी दिनुभयो ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै सरकारमा सहभागी हुने जनता समाजवादी पार्टीको अडानका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । हिजोको सत्ता गठबन्धनको बैठकमा यो अध्यादेश खारेज गर्ने सहमति भएपछि संसद अधिवेशन अन्त्य गर्नैपर्ने अवस्था आएको हो ।

यसअघि राष्ट्रपतिले प्रमाणिकरण गरेको राजीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभाबाट प्रक्रियामा नगएका कारण पनि सरकारले अधिवेशन अन्त्य गरी उक्त विधेयक खारेजका लागि राष्ट्रपति समक्ष फेरि सिफारिस गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *