Main News

गैरकानूनी ढंगले वैदेशिक रोजगारीमा गएकाको उद्धारका लागि संयन्त्र निर्माण गर्न माग

हिमालय टिभी
२०७८ असोज १० गते १९:०९
गैरकानूनी ढंगले वैदेशिक रोजगारीमा गएकाको उद्धारका लागि संयन्त्र निर्माण गर्न माग

१० असोज २०७८ काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले गैरकानूनी ढंगले वैदशिक रोजगारीमा गएका नेपालीको आपतकालीन उद्धारका लागि आवश्यक संरचना तत्काल निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा सांसदहरुले आपतकालीन अवस्थामा आफ्ना नागरिकको उद्धारका लागि सरकारसँग संयन्त्र हुनुपर्ने बताए ।

उनीहरुले गैरकानूनी ढंगले विदेश गई मृत्युवरण गरेका नेपालीको परिवारलाई सम्बन्धित पक्षबाट क्षतिपूर्ति उपलब्ध गराउने काममा पनि केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराए ।

सांसद देवेन्द्र पौडेलले गैरकानूनी ढंगले गएका तर विभिन्न देशमा बेपत्ता भएका नागरिकको खोजी गरी पीडितलाई न्याय दिने गरी आवश्यक संयन्त्र निर्माण गर्न सरकारसँग माग गर्नुभयो ।

समिति सभापति विमल श्रीवास्तवले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नागरिकका परिवारलाई सम्बन्धित रोजगारदाताबाट क्षतिपूर्ति दिलाउने व्यवस्था प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन समितिले पनि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले पहल गरिरहेको दाबी गर्नुभयो ।

सरकारले श्रम स्वीकृति नलिई कसैलाई पनि वैदेशिक रोजगारीमा पठाउने नगरेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *