Main News

मणिपाल अस्पताल विक्री भए नभएको जानकारी गराउन संसदीय समितिको निर्देशन

हिमालय टिभी
२०७८ असोज १० गते १८:१३
मणिपाल अस्पताल विक्री भए नभएको जानकारी गराउन संसदीय समितिको निर्देशन

१० असोज २०७८ काठमाडौं । संसदीय समितिले पोखराको मणिपाल अस्पताल विक्री भए नभएको जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अस्पताल बेचबिखन भएको समाचार आइरहेको भन्दै त्यसबारे जानकारी गराउन निर्देशन दिएको हो ।

समितिले शिक्षा मन्त्रालयलाई मणिपाल अस्पतालसँगको सम्झौतापत्र समेत मागेको छ । बैठकमा पूर्वस्वास्थ्थमन्त्री समेत रहेका नेकपा एमालेका सांसद खगराज अधिकारीले आफूले सम्झौतापत्र सरकारी अधिकारीहरुसंग माग गरेको तर, नपाएको बताउनु भयो ।

उहाँले सम्झौता हुँदा पहिलो पक्ष नेपाल सरकार र दोस्रो पक्ष मणिपाल कम्पनी लिमिटेड रहेको र दोस्रो पक्षले छोड्दा स्वतः पहिलो पक्षको हुनुपर्नेमा त्यसो नभएको बताउनुभयो । मणिपाल अस्पताल विक्री हुनै नसक्ने अधिकारीको तर्क छ ।

पूर्वशिक्षा मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले मणिपालका सन्दर्भमा आएका विषय प्रष्ट हुनुपर्ने र सम्झौता अध्ययन गरेर प्रचलित ऐन कानूनअनुसार निर्णय हुनुपर्ने बताउनुभयो ।

मणिपाल ग्रुपले भदौ १० गते पोखराका दुई व्यवसायी बतास अर्गनाइजेसनका आनन्दराज बतास र अटोवेज प्रालिका नारायण पौडेललाई करिब साढे ३ अर्बमा बेचेको थियो । त्यसमा बतासले ६० प्रतिशत र पौडेलले ४० प्रतिशत व्यहोरेर मेडिकल कलेज खरिद गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *