Main News

कूल आचार्यद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १० गते १५:३४
कूल आचार्यद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी घोषणा (भिडियो रिपोर्टसहित)

१० असोज २०७८ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व उपाध्यक्ष कूल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर एनआरएनएका सल्लाहकार समेत रहनु भएका आचार्यले औंपचारिक रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

एनआरएनएको दशौं विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदैछ । एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पनि उहाँले बताउनु भयो ।

आचार्यले भन्नुभयो, ‘संस्थाका संस्थापक र अग्रजहरुको साथ विश्वभर रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुझाव, भावना, चाहनाका आधारमा मैले आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु । विश्वभरी रहनु भएका तपाई सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको अमूल्य आर्शिवाद, सहयोग, समर्थन, शुभकामनाले निर्वाचित हुनेमा म विश्वस्त छु । र, मैले संकल्प गरेको छु कि तपाई हामी सबैको गैरआवासीय नेपालीहरुको पवित्र मन्दिर गैरआवासीय नेपाली संघलाई मैले थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने छु ।’

आचार्यले आफू अध्यक्षमा निर्वाचित भएमा कोभिडका कारण रोजगारी गुमाएर फर्किएका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गर्ने, विदेशमा हुर्किरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न अनलाइन कक्षाहरु संचालन गर्ने, एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन ‘एनआरएनए खेलकुद प्रतिष्ठान’ स्थापना गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

उहाँले एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौंता गर्ने आश्वासन समेत दिनुभयो ।

आचार्य यसअघि अध्यक्ष पदमा कुमार पन्तसँग पराजित हुनु भएको थियो । आचार्य बेलायतमा बसोबास गर्नु हुन्छ ।

अध्यक्ष पदमै रसियामा व्यवसाय गरिरहनु भएका डा. बद्री केसीले पनि उम्मेदवार दिने बताउनु भएको छ । केसी वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *