राजनीति

पार्टी विभाजनपछि एमालेमै बसेका ९ भाइ अप्ठेरोमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ९ गते २१:०१
पार्टी विभाजनपछि एमालेमै बसेका ९ भाइ अप्ठेरोमा (भिडियो रिपोर्टसहित)

९ असोज २०७८ काठमाडौं । पार्टी विभाजनपछि नेकपा एमालेमै बसेका ९ भाइ भनिने तेस्रो धारका नेताहरु १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओली अनुदार देखिएपछि असमञ्जस्यमा परेका छन् । सहमति कार्यान्वयन भइसक्यो भन्ने जवाफ मात्र पाउने तर व्यवहारमा लागू नगर्ने प्रवृत्तिले तेस्रो धारका नेताहरु अप्ठेरोमा पर्दै गएका हुन् ।

नयाँ दलमा जाँदा सूर्य पनि छुट्ने र एमालेको विरासत पनि सकिने भन्दै केपी शर्मा ओलीकै साथमा बसेका नौ भाइलाई १० बँदे गलापासो हुने देखिएको छ ।

माधवकुमार नेपाल पक्षीय नेताको भाषामा २ वटा नयाँ पार्टी गठन गरेर नेपाललाई उचालेर आफूचाहिँ कुना पसेका भीम रावल लगायतका ९ भाइ १० बुँदे कार्यान्वयन हुने छाँट नदेखेपछि हाँस न बकुल्लाको चाल भएका हुन् ।

असार २७ गते मध्यरातमा हतारहतार हस्ताक्षर भएको १० बुँदेको बर्को ओढेर एमालेमै घीउ खाने दाउलाई ओलीले बारम्बार च्यातिदिएपछि रावल लगायतका नेताको रोइलो शुरु भएको हो ।

माधवकुमार नेपालका तर्फबाट वार्ताको नेतृत्व गरेर १० बुँदेलाई पार्टी एकीकरणको रामवाण भन्नुभएका उपाध्यक्ष भीम रावल अहिले आफैले उचालेको वाण लागेर घाइते हुनुभएको छ। १० बुँदे कार्यान्वयन हुँदा सुदूरपश्चिम प्रदेशको इन्चार्ज हुनुपर्ने रावललाई ओलीका विश्वासपात्र कर्ण थापा र माओवादीबाट मन्त्रीका लागि एमालेमा समाहित लेखराज भट्टहरुले स्वीकार नगरेपछि १० बुँदेको विल्लीबाठ भएको हो ।

शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकमा रावलले १० बुँदेको अक्षरशस् पालनाका लागि माग उठाएपछि अध्यक्ष ओलीले स्थायी समितिको जाली तमसुक गरेर चुप बनाइदिनुभयो ।

नेकपा एमालेमै बस्ने म्याग्नाकार्टा बनाइएको १० बुँदेलाई ओली र उहाँका भक्तमण्डलीले आफू अनुकुल कार्यान्वयन गर्न थालेपछि ९ जना स्थायी समिति सदस्य र हिजो माधव नेपाललाई धोका दिएकाहरुको नौनाडी गल्दै गएको देखिन्छ ।

पार्टी विभाजनपछिका एमालेका सबैजसो स्थायी कमिटी बैठक र पहिलो केन्द्रीय कमिटी बैठकमा समेत यही १० बुँदेलाई लिएर अध्यक्ष ओली र ९ भाइबीच चर्काचर्की परिरहेको छ ।

१० बुँदे कार्यान्वयन भएन भन्ने ९ भाइको गुनासो र कार्यान्वयन भइसक्यो भन्ने ओलीको रेडिमेट जवाफबाहेक यसबारे पार्टीमा थप बहस भइरहेको छैन । ओलीलाई सत्ताको सिंहासनबाट ओराल्न र माधव नेपाललाई ओलीविरुद्ध उराल्न सक्रिय सेलिब्रेटी ९ भाइ अहिले सर्वाधिक फ्लप एक्टरका रुपमा देखिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले विभाजन नहुँदादेखि नै दश बुँदे कार्यान्वयन भइसकेको बताउँदै आउनु भएको थियो । सहमतिका लागि भन्दै गठित कार्यदल, कार्यदलले ओलीलाई बुझाएको सहमतिको दश बुँदा, त्यही दश बुँदा पनि कार्यान्वयन र कार्यान्वयनपछि देखिने त्यसको प्रभावमा तात्कालिन वरिष्ठ नेता नेपालको खासै रुचि पहिले पनि थिएन ।

पर्ख र हेरको अवस्थामा बसिरहेका उहाँलाई ओली प्रवृत्तिमाथि संशय थियो । विगतमा ओलीले आफ्नै बोली र बचनलाई बारम्बार दिएको धोकाले चेत बाबा कासी भइसकेका नेपालले त हिम्मत गरेर नयाँ पार्टी बनाउनु भयो ।

तर नयाँ पार्टीमा जाँदा पापड बेल्नपर्ने भयले ओलीको झेली छाता ओढेकाहरु अब वल्लो घाट न पल्लो तीर बन्नुपर्ने अवस्था सिर्जना भएको छ। राजनीतिमा विचार, नीति र नेतृत्व महत्वपूर्ण हुन्छ । आफ्ना स्वार्थका लागि विचारलाई भारमा सुताउनेको नियति तावाबाट उम्केको माछो भुङ्ग्रोमा हुने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्