हिमोफिलिया भएका व्यक्तिको वास्तविक तथ्याङ्क समेट्न माग (भिडियो रिपोर्टसहित)

९ असोज २०७८ काठमाडौं । हिमोफिलिया सोसाइटी नेपालले देशभर रहेका हेमोफिलिया भएका व्यक्तिको वास्तविक तथ्यांक समेट्न माग गरेको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरी सोसाइटीले राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलिया भएका व्यक्तिको पनि गणना हुने भएकाले वास्तविक तथ्याङ्क समेट्न माग गरेको हो ।
सोसाइटीका महासचिव दिपक न्यौपानेले वास्तविक तथ्याङ्क समेट्न तथा गणक र सुपरिवेक्षकहरुलाई आवश्यक तालिम उपलब्ध गराउन आग्रह गर्नुभयो ।
हिमोफिलिया अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टर कम भई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुनगई रक्तस्राव हुने शारीरिक अवस्थाको व्यक्ति भनि सरकारले परिभाषा गरेको छ ।
हेमोफिलिया भएको व्यक्तिमा कुनै पनि कारणले आन्तरिक वा बाह्य रक्तस्राव भयो भने रगत नथामिने, रक्तस्राव रोक्न प्लाज्मा वा एन्टिहेमोफिलिक फ्याक्टर नै उपलब्ध गराउनुपर्ने चिकित्सकहरुले बताउने गरेका छन् ।
विश्व हिमोफिलिया महासंघको तथ्यांक अनुसार प्रति ५ हजार पुरुष जन्ममा १ जना हिमोफिलिया समस्या लिएर जन्मन्छन् । नेपालमा करिब ३ हजार हिमोफिलियायुक्त व्यक्ति रहेको अनुमान छन ।
अहिलेसम्म ७ सय ५० जना हिमोफिलियायुक्त व्यक्तिको पहिचान भएको सोसाइटीले जनाएको छ ।
प्रतिक्रिया